काठमाडौं । बाँकेमा उपचार गराइरहेका थप पाँचजना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । ज्यान गुमानेहरुमा चारजना बाँकेका र एक जना बर्दियाका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका–१४ की ३८ वर्षीया महिलाको शनिबार बिहान पौने सात बजे भेरी अस्पतालमा मृत्यु भएको छ । भारतको लखिमपुरमा वैशाख १४ गते परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि उहाँ त्यसको पर्सिपल्ट भेरी अस्पतालमा भर्ना हुनुभएको थियो ।
यता नेपालगञ्ज उपमहानगरपालिका–१० की ३८ वर्षकै अर्की महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आज बिहान साढे चार बजे मृत्यु भएको छ ।
त्यसैगरी नेपालगञ्ज उपमहानगरपालिका–१ बाँकेका ६४ वर्षीय पुरुषको बेलुकी ८ बजे र नेपालगञ्ज उपमहानगरपालिका १२ बाँकेका ६७ वर्षीय पुरुषको शुक्रबार अपराह्न पौने पाँच बजे भेरी अस्पतालमा मृत्यु भएको छ ।
यसैगरी बर्दियाको बढैयाताल–७ घर भएका ५२ वर्षीय पुरुषको शुक्रबार साँझ ७ बजे भेरी अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
योसँगै बाँके जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १७४ पुगेको छ ।