धनगढी । बैतडीमा चट्याङ लागेर मृत्यु भएका वडा सदस्य गोविन्द भण्डारीको शव बोकेको जिप दुर्घटनामा परेको छ । सो दुर्घटनामा परी पाँचजनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।
पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य भण्डारीको शव बोकेर सदरमुकामतर्फ जाँदै गरेको से १ ज १८३ नम्बरको जीप सोही वडाको गणमेश्वर मोडमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा जीतसिंह भण्डारी ( ५० वर्ष) डम्बरसिंह भण्डारी ( ३०) हिक्मतसिंह भण्डारी (२७) दीपक भण्डारी ( ४०) र जिप चालक तेजबहादुर बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो ।
घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको निरीक्षक खड्काले बताउनुभयो । जीप सडकबाट करिब पाँच सय मिटर तल खसेको बताइएको छ । दुर्घटनामा थप पाँच जना गम्भीर घाईते भएको प्रहरीले जानकारी दिएको छ । जिपमा १० जना सवार रहेका थिए । दुर्घटनाका घाईतेको उद्दार गरि उपचारका लागि बैतडी अस्पताल ल्याईएको छ ।
वडा सदस्यको शव परीक्षणका लागि जिल्ला अस्पताल लैजाने क्रममा जीप दुर्घटनामा परेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।