काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट थप आठ जनाले ज्यान गुमाएका छन् । बाँकेका ६ जना तथा कैलाली र बर्दियाका एक–एकजना गरी आठजनाको ज्यान गएको हो ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बाँकेको नेपालगञ्ज–१३ का ५८ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–११ की ४३ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।
५८ वर्षीय पुरुषमा वैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएकोमा त्यसको भोलिपल्ट उहाँ अस्पताल भर्ना हुनुभएको थियो । उहाँको उपचारका क्रममा बुधबार राति मृत्यु भएको हो ।
यसैगरी ४३ वर्षीया महिलाको बुधबार संक्रमण पुष्टि भएकोमा उपचारका क्रममा सोही दिन राति मृत्यु भएको हो ।
यसैगरी भेरी अस्पताल नेपालगञ्जमा खजुरा गाउँपालिका–२ बाँकेकी ६७ वर्षीया महिलाको आज विहान मृत्यु भएको छ । गत वैशाख १० गते उहाँलाई कोरोना संक्रमण पुष्टि भएकोमा १२ गते अस्पताल भर्ना गरिएको थियो । उहाँको मृत्युसँगै कोरोनाबाट बाँकेमा ज्यान गुमाउनेको संख्या एक सय सात पुगेको छ ।
भेरी अस्पतालमै कैलालीको लम्कीचुहा नगरपालिका–१ का ४३ वर्षीय पुरुषको पनि आज मृत्यु भएको छ ।
नेपालगञ्ज–१४ का ६० वर्षीय, नेपालगञ्ज–९ का ४२ वर्षीय, नेपालगञ्ज–५ का ५५ वर्षीय पुरुष र बर्दियाको बढैयाताल गाउँपालिका–८ का ३२ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
अस्पतालका अनुसार नेपालगञ्जका ६० वर्षीय पुरुषको वैशाख ६ गते संक्रमण पुष्टि भएकोमा बुधबारमात्रै भेरी अस्पतालमा भर्ना हुनुभएको थियो । अस्पताल भर्ना भएकै दिन बुधबार राति उहाँको मृत्यु भएको हो ।
बाँकेकै ४२ वर्षीय पुरुषमा वैशाख १० गते संक्रमण पुष्टि भएकोमा त्यसको भोलिपल्ट उहाँ अस्पतालमा भर्ना हुनुभएको थियो । अस्पतालमा भर्ना गरी सबै आवश्यक औषधि प्रयोग गरी उहाँको उपचार थालिए पनि बुधबार राति उहाँको मृत्यु भएको हो ।
बाँकेकै ५५ वर्षीय पुरुषको वैशाख १० गते नेपालगञ्ज मेडिकल कलेजमा नमुना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै नेपालगञ्ज मेडिकल कलेजमा उहाँलाई भर्ना गरिएको थियो । तर स्वास्थ्यमा सुधार नआएपछि उहाँलाई बुधबार भेरी अस्पतालमा रिफर गरिएको थियो । सबै प्रकारका औषधि प्रयोग गरी उपचार थालिए पनि उहाँको बिहीबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
बर्दियाका ३२ वर्षीय पुरुषको वैशाख ९ गते गरिएको पीसीआर परीक्षणमा संक्रमण देखिएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि बुधबार भेरी अस्पतालमा भर्ना भएका उहाँको बिहीबार बिहान उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।