सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन् । आज बसेको प्रदेशसभाको बैठकको दोस्रो सत्रमा मुख्यमन्त्री शाहीले मागेको विश्वासको मत पाएका हुन् ।
३९ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री शाहीको पक्षमा २२ मत परेको छ । सो प्रदेशमा एमाले १९, माओवादी केन्द्र १२, नेपाली कांग्रेस ६ र राप्रपाका १ सांसद रहेका छन् । राप्रपाले तटस्थ बस्ने निर्णय गरेको थियो ।
तर एमालेका चार जना सांसदहरुले पार्टीको ह्वीप उल्लंघन गर्दै माओवादी केन्द्रको सरकार जोगाइदिएका छन् । एमाले सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गरेका हुन् । उनीहरु एमालेका निलम्वित नेता माधव कुमार नेपाल पक्षका हुन् । केन्द्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एमालेका माधव नेपालले गहिरो प्रेम परेको छ । माधव नेपालसँग गहिरो प्रेम भएपनि अदालतले छुट्याइदियो भन्दै प्रचण्डले अलाउना विलाउन गर्दै आएका छन् ।
उनै प्रचण्डको आग्रहमा माधव नेपालले आफू समर्थक सांसदहरुलाई ह्वीप उल्लंघन गरेर भएपनि मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्न लगाएका छन् । यसले केन्द्रीय राजनीतिमा समेत ठुलै प्रभाव पर्न सक्ने देखिन्छ ।
आफ्नो पार्टीको स्पष्ट वहुमत रहेको र एकल सरकार बन्ने निश्चित हुँदाहुँदै माओवादीलाई समर्थन गरेर पार्टीमाथि ठूलो घात गरेको भन्दै एमालेका नेता, कार्यकर्ताहरुले सामाजिक सञ्जालमार्फत माधव नेपालको कडा आलोचना गरेका छन् ।