काठमाडौं । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको चालु अधिवेशन बुधवार मध्यरातदेखि अन्त्य गर्नुभएको छ ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश अमिक शेरचनले वैशाख १ गते राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्नुभएको हो । प्रदेश प्रमुख शेरचनले गण्डकी प्रदेश, मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको उल्लेख गर्नुभएको छ । गण्डकी प्रदेशसभामा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, राजमोका ३ र जसपाका २ सांसद छन् ।
उता पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
विपक्षी दलहरूले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि प्रदेश सरकारले मध्य रातमा प्रदेशसभा अधिवेशन अन्त्य गरेको थियो । अधिवेशन अन्त्यका बाबजुद नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।
प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई प्रस्ताव गरिएको छ ।
अविश्वासको प्रस्तावमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् । तीन प्रदेशसभा सदस्य भएको राष्ट्रिय जनमोर्चाले प्रस्तावको पक्षमा मतदान गर्ने कांग्रेस प्रदेशसभा सदस्य कुमार खड्काले बताउनुभयो ।