काठमाडौं । प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गर्न गएका गुल्मीका कर्मचारी सवार जीप दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ ।
स्वर्गद्वारी नजिकै भएको सवारी दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित ५ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्याङ्जा स्थायी घर भएर जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत प्रशासकीय अधिकृत ३९ वर्षीय श्याम न्यौपाने, चालक २२ वर्षीय केशव कार्की, नायव सुब्बा ईश्वरी भण्डारी, खरिदार यमलाल पन्थी र सूर्य पन्थी छन् । गाडी चालक र प्रशासकीय अधिकृतको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा र अन्य तीनजनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
नयाँ वर्षको दिन गुल्मीको तम्घासदेखि स्वर्गद्वारी मन्दिर दर्शनका लागि जाँदै गरेको लु१च १६५५ नम्बरको जिप स्वर्गद्वारी नगरपालिका- ३ रूमालेमा दुर्घटना भएको हो । बसलाई ओभरटेक गर्न खोज्दा जिप सडकदेखि करिब ६० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ ।
घटनामा ११ जना घाइते छन् । घाइतेमध्ये गम्भीर दुई जनालाई हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा १२ वर्षीय पार्थक ज्ञवाली र प्यूठान स्थायी घर भएर जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत खरिदार ३५ वर्षीय सन्दिप परियार गंभिर घाइते भएका छन् ।
त्यस्तै, २३ वर्षीय सुनिता कँडेल, २९ वर्षीय वसन्ती पौडेल, उनकी ४ वर्षीय छोरी निकिता पौडेल, ३० वर्षीय गीता मुखियाँ उनकी १२ वर्षीय छोरा अनिस मुखियाँ, २४ वर्षीय तारा भडारी बोहरा, उनकी ६ वर्षीय छोरा आशिष बोहरा, ३३ वर्षीय डिलबहादुर थापा, २७ वर्षीय कमला ज्ञवाली र २५ वर्षीय मुना पाण्डे घाइते भएको प्रहरीले जनाएको छ ।