काठमाडौँ । ललितपुर किक बक्सिङ्ग संघको आयोजनामा चैत २६ देखि २८ गतेसम्म गोदावरी नगरपालिका वडा नं. ११ स्थित प्याङ्गगाउं चौरमा संचालन भएको “वीर गणेशमान सिंह स्मृति चौंथो राष्ट्रिय किक बक्सिङ्ग प्रतियोगिता” मा त्रिभुवन आर्मी क्लवमा आवद्ध क्यूकोशिन करांते खेलाडीहरु सहभागी भई टिम च्याम्पियन हुंदै नगद पुरस्कार रु.१ लाख, मेडल तथा प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएको छ ।
सो प्रतियोगिताको विभिन्न तौलसमूहमा प्रथम हुने खेलाडीहरुमा मनिषा प्रधान, सनि सिंह सुनार, मञ्जु बिक, राजेश चौधरी, दल बहादुर घले र बिन्द् पुन मगर (खुल्ला) हुनुहुन्छ । प्रथम हुने सम्पूर्ण खेलाडीहरु प्रत्येकले नगद पुरस्कार रु ३० हजार प्राप्त गर्नुभयो ।
त्यसैगरी विभिन्न तौलसमूहमा द्वितीय हुने खेलाडीहरुमा सन्तोष तामाङ्, निशा बोहरा र धर्मेन्द्र राम हुनुहुन्छ । प्रत्येक खेलाडीहरुले रु १५ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नुभयो । त्यस्तै तृतीय हुने खेलाडीहरुमा मिलन तामाङ, अनुजा कुलुङ राई, कमल आचार्य र नबिना घलान रहनुभएको नेपाली सेनाद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । तृतीय हुने प्रत्येक खेलाडीहरुले नगद रु ८ हजारका दरले प्राप्त गर्नुभएको जनाइएको छ ।