काठमाडौँ— स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नेपालमा कोरोना संक्रमणको जोखिम भए तापनि बन्दाबन्दीको स्थिति आउन नदिने नै प्रयास भइरहेको बताउनुभएको छ । ‘एक वर्षको अनुभव, तयारी र पूर्वाधार छ । त्यसलाई प्रभावकारी बनाई बन्दाबन्दी हुन नदिने भन्ने प्रयत्न हो,’ उहाँले भन्नुभयो ।
स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भेटघाट कार्यक्रममा उनले कोरोना संक्रमणको जोखिम अत्यधिक बढ्दै गएकाले बताउँदै एन्टिजेन परीक्षणहरु बढाएको बताउनुभयो ।
जेठ र असारसम्म कोरोना संक्रमितको संख्या उच्चतम बिन्दुमा पुग्न सक्ने आंकलन छ । मन्त्री त्रिपाठीले भन्नुभयो, ‘दैनिक ११ हजार पुग्न सक्ने र सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण छ । तर त्यो अवस्था आउन नदिने प्रयास भइरहेको छ ।’
उहाँले काठमाडौं उपत्यकामा ७ देखि ८ लाख विद्यार्थीहरु रहेको र सहरी क्षेत्रमा अनलाइन कक्षा सञ्चालन गर्न प्रस्ताव गरेको बताउनुभयो । उहाँले भाइरसको नयाँ भेरिएन्ट देखिएको र युवा तथा कम उमेर समूहकामा देखिएकोले बढी जोखिम रहेको बताउनुभयो ।
मन्त्री त्रिपाठीले १८ वर्षभन्दा माथिकालाई अहिलेसम्म खोप नहुँदा डरलाग्दो अवस्था रहेकाले भयावह अवस्था आउन नदिन पूर्वतयारीमा ध्यान दिइरहेको बताउनुभयो । त्रिपाठीका अनुसार मुख्य नाकामा १ हजार जनासम्म बस्ने होल्डिङ सेन्टर निर्माण गर्ने काम अघि बढिसकेको छ ।