काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७८ को उपलक्ष्यमा देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ ।
नव वर्षको अवसरमा भोलि वैशाख १ गते बिहान ८ बजे सिंहदरबारबाट देशवासीलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।
सम्बोधनमा प्रधानमन्त्री ओलीले आगामी नयाँ वर्ष २०७८ लाई आशा र उत्साहको वर्षको रुपमा मनाउन देशवासीलाई आग्रह गर्नुहुनेछ ।
यसैगरी सरकारले आगामी वर्षमा गर्ने ठूला विकासका योजना, सामाजिक सुरक्षाका क्षेत्रमा गर्ने कामहरुको केही झलक समेत प्रधानमन्त्री ओलीले सम्बोधनमा उल्लेख गर्नुहुनेछ ।
प्रधानमन्त्री ओलीले २०७७ साललाई ‘पीडादायी वर्ष’को रुपमा चित्रित गर्नुहुनेछ । २०७७ साल सुरु नहुँदै नेपालमा फैलिएको कोरोना महामारीले नेपालीको स्वास्थ्य, आर्थिक र सामाजिक क्षेत्रलाई तहसनहस पारेको अवस्थालाई प्रधानमन्त्रीको सम्बोधनमा उल्लेख हुनेछ ।
कोरोना र राजनीतिक संकटका बीच सरकारले के कसरी काम ग-यो र के उपलब्धि हासिल गर्यो भन्ने सन्दर्भमा पनि प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा उल्लेख गर्ने कार्यक्रम रहेको छ ।