काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधिसभाको सभामुख पद साझा भएकाले पार्टीगत राजनीतिमा लाग्न नहुने बताउनुभएको छ । उहाँले अग्निप्रसाद सापकोटा पार्टीगत स्वार्थमा लागेको बताउनुभयो ।
सभामुख सबैको साझा हुनुपर्ने भए पनि अग्नि सापकोटामा त्यो गुण नदेखिएको उहाँले बताउनुभयो । चैत २६ गते बसेको प्रतिनिधिसभा बैठकमा संसदीय समितिहरुको हेरफेर गर्न माग गर्दा पनि सभामुखले त्यसतर्फ ध्यान नदिनुभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टी पूर्ववत् अवस्थामा फर्किएपछि एमाले भएर बस्न पाउनुपर्छ, संसदीय समितिमा एमालेको प्रतिनिधित्व गराउन पाउनुपर्छ, यो स्वाभाविक हो, सोहीअनुसार हामीले हेरफेरको प्रस्ताव राखेका हौँ तर सभामुखले आलेटाले नीति लिनुभयो ।’ साभामुख साझा व्यक्ति हुनुपर्नेमा पार्टीगत स्वार्थमा लागेर समितिका सदस्य हेरफेरको विषयलाई टारिदिनु उचित नहुने उहाँको भनाइ छ ।
संसदीय समितिहरुमा सदस्यहरुको हेरफेर हुनु स्वाभाविक प्रक्रिया हो । विभिन्न पार्टीका संसदीय दलले समितिका पदाधिकारी हेरफेर गर्न निवेदन दिँदा सभामुखले सो काम गर्नैपर्ने कानुनी व्यवस्था छ । संसदीय समितिहरुमा दलीय अनुपातमा सदस्यहरु रहने गर्छन् । संघीय संसद्को सबैभन्दा ठूलो दल एमालेले आफ्ना सदस्य हेरफेर गर्नका लागि चैत २५ गते सभामुख सापकोटासँग आग्रह गरेको थियो ।