काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो उद्देश्य देश विकास गर्ने भएकाले त्यसलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ । उहाँले आफ्नो उद्देश्य देश विकासमात्र गर्ने भएको बताउनुभयो । ‘केपी ओलीले जस पाउने भयो भन्दै काम गर्न अवरोध पु-याउनेप्रति लक्षित गदै उहाँले भन्नुभयो, ‘मेरो गन्तव्य भनेको देश विकास हो । मलाई जस चाहिदैन ।’
पार्टीको भातृ संगठन उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले कुनै पनि हालतमा देश विकासको आफ्नो अभियानलाई कसैले रोकेर नरोकिने प्रष्ट पार्नुभयो ।
माधव नेपाल पक्षसँग असन्तुष्टि व्यक्त गदै उहाँले भन्नुभयो, ‘छँदाखाँदाको आफनो दुई तिहाईको सरकार ढालेर नेपाली काँग्रेसकहाँ प्रधानमन्त्री खाइदिनुस् भनेर जानुको कारण के हो ? काममा अगाडि बढिरहेको सरकार ढाल्ने ? अन्तरघातीहरु हुन यिनीहरु ।’ उहाँले आफ्नो ३ वर्षको समयमा निकै नै सास्तीले काम गर्नुपरेको बताउनुभयो ।
हिँड्न खोज्यो भने अगाडि बढ्नै नदिने, निहुँ खोज्या छ, खोज्या छ, सधै बैठक भन्या छ, छलफल हुनुप-यो भन्या छ, म त हैरान नै भएँ’ उहाँले भन्नुभयो । माधव समूहसँग बिहानदेखि बेलुकासम्म छलफलमा बस्दा कुर्सीभन्दा अरु नबुझेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘छलफल के भन्दा मेरो त कुर्सी नै उडाइदिएँ भन्या छ । म हस्पिटलबाट आएको हुनाले कुर्सी अलि पर राखिदिएछन् । त्यो मलाई थाहा पनि थिएन तर उहाँहरुको जहिल्यै त्यही कुरा, मेरो त कुर्सी नै छैन भन्या छ । ए बाबा कुर्सी सारेर बसे भईगयो नि, पार्टीको काम छलफल भनेको सधै किचकिच मात्रै गर्ने हो ?’ ‘अहिले पनि पार्टीबाट निष्काशन गरेका छैनौँ । आत्मालोचना गरेर फर्किनुस्, पार्टीमा बिना भेदभाव काम गर्न दिन्छौँ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘माधव नेपालजी आएर काम गर्नुहुन्छ भने अहिलेसम्म गरेका अपराधपूर्ण कामको आत्मालोचना गर्नुस् ।’
प्रधानमन्त्री ओलीले आफूलाई जति भने पनि सहने, तर पार्टीलाई ध्वस्त पार्न खोजे सहेर बस्न नसकिने बताउनुभयो ।