काठमाडौं । काठमाडौँको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको जंगलमा भीषण आगलागी भएको छ । आइतबार बिहान ११ बजेबाट बुढानिलकण्ठ नगरपालिका–१ तौलुङबाट आगलागी सुरु भएको र अहिले क्रमशः फैलिँदै गएको काठमार्डौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
उहाँले अहिले स्थानीय, सेना, प्रहरी, सशस्त्रलगायतको टोलीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको बताउनुभयो ।
उहाँका अनुसार आगो नियन्त्रणका लागि अहिले चारवटा दमकलको प्रयोग भइरहेको छ ।
‘निकुञ्जको जंगलमा फैलिएको आगो नियन्त्रणका लागि अहिले सेना, प्रहरी, सशस्त्रसहितको टोली परिचालन गरेका छौँ’, प्रजिअ पराजुलीले भन्नुभयो, ‘चारवटा दमकलको प्रयोग गरेका छौँ।’
सो आगो निभाउने प्रयास हेलिकोप्टरबाट पानी हालेर समेत भइरहेको छ । सिम्रिक एयरलाइन्सले पानी हालेर आगो निभाउने प्रयास गरिरहेकाे प्रहरी प्रभागले जनाएको छ । प्रहरीका अनुसार अहिलेसम्म आगो के कारणले लगेको पत्ता लागेको छैन ।