काठमाडौं। विद्यालयलगायत शैक्षिक संघसंस्थाहरु बन्द गर्न स्वास्थ्य मन्त्रालयले सिसिएमसीलाई सिफारिस गरेको छ । स्वास्थ्य मन्त्रालयले विद्यालय जाने उमेर समूहमा कोरोना भाइरसको संक्रमण बढ्दो रहेको भन्दै उच्च सतर्कता अपनाउन स्कुल बन्द गर्ने सिफारिस गरेको हो ।
स्वास्थ्य मन्त्रालयले सूचना जारी गरी काठमाडौं, पोखरालगायतका ठूला सहरहरुमा विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढ्दो रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । पछिल्लो समय प्रयोगशालाहरुको परीक्षणबाट विद्यालय जाने उमेर समूहका बालबालिकामा संक्रमण बढेको तथ्यांक उल्लेख छ । मन्त्रालयले स्वास्थ्य मापदण्डमा सबै सचेत नहुने हो भने अवस्था फेरि भयावह हुने बताएको छ। मन्त्रालयले विद्यालय, सिनेमा हल र पार्टी प्यालेसहरु पनि बन्द गर्न सिसिएमसीलाई सिफारिस गरेको छ ।
देशभरका अधिकांश विद्यालय फागुनयता संचालनमा छन् । तर, कतिपय विद्यालयहरुले अझै पनि अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन् । कोरोना भाइरसको दोस्रो लहर आएपछि अस्पतालहरुमा विरामीको चाप बढेको छ ।
यसैगरी मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउनसमेत सिफारिस गरेको छ । यसबारे कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को आजै बस्ने बैठकले निर्णय गर्न सक्ने छ ।
कोरोना संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउनुपर्ने निष्कर्ष निकालेको छ ।