काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय नेपालमा कोरोनाको जोखिम पुनः बढ्दै गएकाले सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।
नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढेकोले सचेत बन्न आग्रह गर्नुभयो । उहाँले अहिले नै सतर्कता नअपनाए फेरि पहिलेकै जस्तो जनजीवन ठप्प हुने स्थिति आउन सक्ने भएकाले सबैले सचेत भई सावधानीका उपायहरु अपनाउनुपर्ने बताउनुभयो ।
उहाँले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र हातमुख धुने लगायतका काम गर्दा कोरोनाको संक्रमणबाट जोगिन सकिने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कोभिड १९ को सन्दर्भमा म भन्न चाहन्छु । हाम्रो जनजीवनलाई ठप्प पनि नगरौं त्यसैले सबैले सतर्कता अपनाउनुपर्छ । हामी सावधान हुनुपर्छ अहिलेदेखि, दूरी कायम गर्ने, मास्क लगाउने । किञ्चित हामी काभिड–१९ लाई अवसर नदिऔं। मैले भन्ने गरेको छु यहाँबाट फर्किएपछि हामी सबैले हातमुख राम्रोसँग धोऔं।’
प्रधानमन्त्री ओलीले तातो पानीको बाफ लिने, नुनपानीले कुल्ला गर्ने बानी बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिने पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अलि तातोतातो पानी लिँदै नस लिँदै नाक स्याकस्याक गरेर सफा गरिदिऔं । पहिले गएर नाकमा बस्ने हो कोरोना त्यहीँबाट फालिदिएपछि चैट । नुन पानीले गालगुल गरिदियो, सकिन्छ भने अम्बाका दुईवटा पात उमाल्दिउँ बेसरी गालगुल गरिदिउँ घाँटीमा बसेको चट, स्टिम लिइदिउँ फोक्सोबाट चट, त्यति गर्दाखेरी धेरै सुरक्षित भइन्छ ।’
एक फरक प्रसंगमा प्रधानमन्त्री ओलीले उद्योग व्यवसायलाई सरकारले दिने सेवामा एकद्वार प्रणाली लागू गरिएको बताउनुभयो । यस्तै कर्मचारी तन्त्रमा हुने प्रक्रियागत झन्झटलाई पनि समाधान गर्दै सरलिकृत बनाउँदै लग्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले उपभोग्य वस्तु आयात गर्नु भन्दा लगानी र प्रविधि आयात गरी नेपालमै उत्पादन बढाउने र निर्यात गर्ने काम गर्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो । उत्पादन बढाई निर्यात बढाउन सके व्यापार सन्तुलन कायम हुने र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘हामीले आयात गर्ने कुराहरु ती हुन् लगानी र प्रविधि, उत्पादित वस्तु, उपभोग्य वस्तु हामीले आयात गर्ने होइन। अब जहाँसम्म अति जरुरी छ त्यो हालका लागि आयात गर्नुप¥यो। तर हाम्रा निम्ति आयात नगरी नहुने कुराबाहेक अनावस्यक चिजहरु आयात गर्नुहुँदैन। आयात अत्यावश्यक वस्तुको मात्रै, हाम्रो जनजीवनका लागि अत्यावश्यक वस्तुको मात्रै आयात गर्ने अरु कुरा हामी आफैँले उत्पादन गर्ने, उत्पादन बढी गरेर निर्यात गर्ने वा निर्यातमुलक वस्तुहरुको उत्पादन गरेर निर्यात गर्ने । उत्पादन बढाएपछि आयात कम गरेपछि अनावस्यक वस्तुहरु आयात कम गर्यो भने अहिले पनि अनावस्यक वस्तुहरु आयात गर्न छोड्यौं भने, अनावस्यक वस्तुहरु उपभोग गर्न छोड्यौं भने हाम्रो व्यापार असन्तुलनमा सकारात्मक प्रभाव आइहाल्छ।’
अन्य मुलुकको तुलनामा नेपालको अर्थतन्त्रमा कोभिड–१९ को प्रभाव कम परेको दावी पनि प्रधानमन्त्री ओलीले गर्नुभयो । कोभिडको कारण नेपालको पर्यटन क्षेत्र सबैभन्दा धेरै प्रभावित भएको र अर्थतन्त्रमा धक्का भएको भए पनि उठ्नै नसक्ने गरी भने असर नपरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कोभिड १९ को बीचमा पनि हाम्रो अर्थतन्त्र जति अन्यत्र धेरै ठाउँमा धक्का पर्यो हाम्रो अर्थतन्त्रमा त्यो धक्का पर्न सकेन। धक्का परेको छ, पीडा परेको छ, पर्यटन क्षेत्र चौपट भएको छ, होटल व्यवसाय चौपट भएको छ अरु क्षेत्रहरु पनि धेरै नोक्सान परेका छन्। त्यसकारण क्षति नभएको होइन तर फेरि पनि हामीलाई त्यति धक्का परेको छैन जति विभिन्न देशहरुमा परेको छ। एउटा विश्वकै संकटको रुपमा यो महामारी आएको छ र यस महामारीलाई हामीले नियन्त्रण त गरेका छौं ।’
प्रधानमन्त्री ओलीले लामो समय विग्रिएर रहेको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन समय लागेको पनि बताउनुभयो । तर सरकारले निरन्तर काम गरिरहेकोले विकासका क्रियाकलापले गति लिएको बताउनुभयो ।