काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामति प्रशासन ‘झिङ्गे टसाई’ सोचबाट मुक्त हुनुपर्ने बताउनुभएको छ ।
बुधबार सिंहदरबारमा आयोजित नेपाल सरकारका सचिवहरुबीच निजामति सेवाका विभिन्न पक्षसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले यस्तो बताउनुभएको हो ।
समयको गतिसँगै निजामति प्रशासन परिवर्तन हुन नसकेको उहाँको भनाइ छ । पोखरेलले निजामति प्रशासनले परिणामभन्दा पनि प्रक्रियालाई जोड दिने गरेको टिप्पणी गर्नुभयो ।
‘अहिले निजामति प्रशासनभित्र रहेको प्रमुख समस्या हो सोचमा सकारात्मक परिवर्तनको अभाव, निजामती प्रशासन अझैसम्म झिङ्गे टसाई सोचबाट मुक्त हुन सकेको छैन,’ उहाँले भन्नुभयो, ‘यसलाई विरासतमा पाएको भन्ने गरिए पनि समयको गतिसँग प्रशासन परिवर्तन हुन नसकेको रुपमा यसलाई बुझ्नुपर्दछ भन्ने म यहाँहरुसमक्ष राख्न चाहन्छु । त्यसैले होला निजामति प्रशासनले परिणामभन्दा पनि प्रक्रियालाई जोड दिने गरेको छ ।’
उपप्रधानमन्त्री पोखरेलले कर्मचारीतन्त्र आफैंमा सक्षम हुँदाहुँदै पनि जनताको विश्वास जित्न नसकेको पनि बताउनुभयो । ढिलासुस्ती, भ्रष्टाचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिचकिचाउने, समस्यासँग तर्सनेलगायतका प्रवृत्तिका कारण पनि कर्मचारीतन्त्रमाथि प्रश्न उठ्ने गरेको उहाँको भनाइ छ । शासन प्रणालीलाई सुदृढ र सबल बनाउने मूल जिम्मेवारी निजामति प्रशासनको काँधमा भएकाले यसलाई सक्षम र नागरिकमैत्री कार्यशैलीबाट लोकप्रिय बनाउन आवश्यक रहेको पनि उपप्रधानमन्त्री पोखरेलले टिप्पणी गर्नुभयो ।