काठमाडौं । नयाँ वर्ष २०७८ को अवसरमा सहरवासीहरुलाई कममात्रामा सवारी साधनमा यात्रा गर्ने सन्देश प्रवाह गर्न वैशाख १ गते ३३ पोखरी पदयात्राको आयोजना गरिएको छ । करिब ३३ हजार फिट लामो उक्त पद यात्रा सामान्य मानिसले ३ घन्टा ३३ मिनेट मा पूरा गर्ने गरेको छ ।
हाल नेपालभर नै प्रदूषणका कारण वातावरणमा गम्भीर असर पुगेको छ । यो असर पर्नुका एक कारणमध्ये अत्यधिकरुपमा सवारी साधनको प्रयोग पनि हो । निजी सवारीसाधन बाहक र अनावश्यक यात्राको न्यूनीकरण गर्ने उद्देश्यका साथ भक्तपुर टुर्सले नियमितरुपमा पदयात्रा गर्ने गरेको छ ।
पदयात्रा बिहान साढे सात बजे भक्तपुरको माहेश्वरी मन्दिरबाट सुरु हुनेछ । उक्त दिन भीड हुन नदिन दश/दशजनाको समूहले एक एक मिनेटको अन्तरालमा यात्रा प्रारम्भ गर्नेछ । उक्त पदयात्रामा भक्तपुरका ३३ वटा साना ठुला पोखरीहरुको अवलोकन गर्न सकिन्छ ।
यो यात्रामा प्रतिष्ठित बैक, सहकारी, स्कूल, कलेज, सरकारी कर्मचारी, कूटनीतिक नियोगका अधिकारीहरुको समेत सहभागिता हुनेछ । पदयात्रीहरुको मनोरञ्जनका लागि स्थानीय परिकार सहित सम्हे बजीको व्यवस्था गरिएको छ । स्वास्थ्य सुरक्षालाई मध्यनजर गरी सहभागीहरुले चैत ३१ सम्म नाम दर्ता गर्ने व्यवस्था गरिएको बताइएको छ ।