सुर्खेत । कर्णाली प्रदेशका तीन मन्त्रीले सामुहिक राजीनामा दिएका छन् ।
कर्णाली प्रदेश सरकारमा एमालेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा सहभागी थिए । उनीहरु तिनै जना माधव नेपाल समूहका हुन् ।
संसदीय दलको आइतबार बसेको बैठकले मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा रहेका तीन मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको थियो । तीनजना मन्त्रीले पार्टी निर्देशनअनुसार संयुक्तरुपमा राजीनामा घोषणा गरेका हुन् ।
आइतबार बसेको एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो।
गत चैत ४ गते बसेको एमाले संसदीय दलको बैठकले नै शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो तर नेपाल–खनाल पक्ष असहमत भएको थियो। तर पछिल्लो समय यस विषयमा एमाले एक भएको हो।
कूल ४० सांसद रहेको कर्णाली प्रदेश सभामा २० सांसद रहेको एमालेले समर्थन फिर्ता लिएपछि माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकार अल्पमतमा परेको छ । माओवादी केन्द्रमा एक सांसद एमालेतर्फ लागेपछि अहिले उसँग जम्मा १२ सांसद छन् ।