काठमाडौं । सैनिक कल्याणकारी बोर्डको संयोजकत्व तथा नेपाली सेनाको व्यवस्थापनमा बाग्मती प्रदेशका भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनको सहभागितामा ‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार आत्मसम्मान तथा समृद्धिको आधार’ भन्ने मूल नाराका साथ मकवानपुरको हेटौंडास्थित मध्य पृतना हेडक्वार्टरमा आयोजना भएको प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ ।
राष्ट्रिय गान, वीरगति प्राप्त गर्नेहरुको सम्झनामा मौनधारण, कल्याणकारी बोर्डका कार्यकारी अधिकृतबाट स्वागत मन्तव्य तथा प्रधानसेनापतिबाट दिप प्रज्वलन गरी शुरु भएको सो सम्मेलनमा बाग्मती प्रदेशका ८ जिल्लाहरुमा बसोबास गर्ने ७,४३६ जना नेपाली सेनाका भूतपूर्व सैनिक तथा परिवारजनको सहभागिता रहेको थियो । उक्त सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानसेनापति थापाले नेपाली सेनाको संस्थागत मूल्य र मान्यताहरुलाई जीवन्त राख्न अवकाश प्राप्त अग्रज सैनिकहरूले गरेको निःस्वार्थ सेवा तथा भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले यस प्रकारको कार्यक्रमले भूतपूर्व तथा बहालवाला सैनिकहरुबीच सामिप्यता बढाउन महत्वपूर्ण भूमिका खेल्नुका साथै सैनिक कल्याणकारी कोषका हिताधिकारीहरुको पिरमर्का सम्बोधन तथा व्यवस्थापनका लागि उत्तम माध्यमको रुपमा प्रभावकारी रहेको बताउनुभएको थियो ।
सम्बोधनकै क्रममा उहाँले नेपाली सेनाको कल्याणकारी कार्यसम्बन्धी दीर्घकालीन योजना २०८७ कार्यान्वयन भएको उल्लेख गर्नुहुँदै भूतपूर्वहरुको आर्थिक समुन्नति, प्रगति र अवकाशपछिको सुखमय जीवनको समुचित व्यवस्थापन हुनु भनेकै सिङ्गो नेपाली सेनाको आधारस्तम्भ बलियो हुनु हो भन्नुभएको थियो । अवकाश प्राप्त गरिसकेपछि पुनः रोजगारीका लागि विदेशिने अवस्थाको अन्त्य गरी स्वेदशमा नै स्वरोजगारीका अवसरहरु सृजना गरी परिवारसँगै सुखमय जीवनयापनका लागि नेपाली सेनाले सैनिक कल्याणकारी गतिविधिहरुलाई विविधीकरण गरी सर्वसुलभ बनाउन अधिकतम प्रयास गर्दै आएको बताउनुभएको थियो ।
सो कार्यक्रममा जेष्ठ भूतपूर्व सैनिक थाहा नगरपालिका वडा नं. ३ पालुङ्ग, मकवानपुर निवासी बर्ष ९८ का पुरानो गोरख गणबाट अवकास प्राप्त सुवेदार गजेन्द्र बहादुर कार्की र शम्शेर दल गणबाट अवकास प्राप्त स्वर्गिय सिपाही नन्दप्रसाद पाल्याकी श्रीमती जेष्ठ एकल महिला श्रीमती गोमा ढकाललाई सम्मान गरिएको थियो भने सर्वोत्कृष्ट लघु व्यवसायी बन्न सफल नुवाकोट जिल्ला विदुर नगरपालिका–६ निवासी राजकुमार आचार्य र उत्कृष्ट लघुउद्यम व्यवसायी चितवन जिल्ला भरतपुर– १५ निवासी टोकनाथ न्यौपानेकी श्रीमती शुशिला न्यौपानेलाई सम्मान गरिएको थियो । उक्त समारोहमा ४ वा सोभन्दा बढी सन्ततिहरुलाई नेपाली सेनामा सेवा गर्न अभिप्रेरित गर्ने आमा तथा बुवाहरुलाई सम्मान, फरक क्षमता भएका तथा असक्त ४९ जनालाई व्हिलचियर, बैशाखी र आर्थिक सहयोग प्रदान गरिनुका साथै लघुबित्त कार्यक्रमअन्तर्गत महिला उद्यमशिल कर्जा प्राप्त गर्ने ऋणीहरुलाई चेक हस्तान्तरण गरिएको थियो । उक्त अवसरमा प्राथमिकताका आधारमा कोभिड–१९ को भ्याक्सिन समेत प्रदान गरिएको थियो ।
भूतपूर्व सैनिकहरुका तर्फबाट अवकास प्राप्त रथीबृन्दहरु तथा भूतपूर्व सैनिक संघका सभापतिबाट सम्बोधन एवं बलाधिकृत रथी प्रभुराम शर्माको मन्तव्यसहित समापन भएको उक्त कार्यक्रम हेटौंडाका स्थानीय सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरेका थिए । उक्त समारोहमा बाग्मती प्रदेशका प्रमुख सचिव, कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत, हेटौंडा उपमहानगरपालिकाका प्रमुख, प्रदेशस्तरीय सुरक्षा प्रमुखहरु, बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द तथा अधिकृतलगायत विभिन्न सञ्चारगृहका सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
उक्त सम्मेलनले भूतपूर्व सैनिक व्यक्तिहरूको अवकाशपछिको जीवनमा थप उर्जा र शक्ति प्रदान गर्नुका साथै सम्मानपूर्ण सामाजिक जीवनमा स्थापित भई सेनाप्रति सकारात्मक सोचको विकास एवं राष्ट्रिय एकतामा टेवा दिन थप उर्जा तथा हौसला मिल्ने विश्वास नेपाली सेनाले लिएको छ ।