काठमाडौं । नयाँ सरकार गठनमा काँग्रेसलगायत अन्य दलको विचार प्रष्ट नभएको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले बताउनुभएको छ । उहाँले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीप्रति विश्वास बढेर गएको बताउनुभयो । उहाँले भन्नुभयो, ओलीजी निर्वाचित प्रधानमन्त्री हुनुहुन्छ, निर्वाचित आफ्नो पार्टीको अध्यक्ष हुनुहुन्छ । अहिलेसम्म उहाँको सरकार बहुमत प्राप्त सरकार हो । उहाँ अल्पमतमा पर्नुभएको छैन ।’ मधेशका मुद्धामा ओली सरकार धेरै हदसम्म लचिलो र गर्न सक्ने जति गरिदिन्छु भन्नु नै आफूहरुका लागि ठुलो कुरा भएको ठाकुरको बुझाइ छ । उहाँले भन्नुभयो,–‘अरुले त यति गरिदिन्छु भनेका छैनन, प्रधानमन्त्री ओलीले जति सक्छु तपाईहरुका माग पुरा गर्छु भन्नुभएको छ ।’
मधेश मागमा मात्र नभएर राजनीतिका अन्य सवालमा पनि प्रधानमन्त्री ओली प्रष्ट भएको ठाकुरले बताउनुभयो । ‘ओलीको लाइन क्लियर छ, उहाँले यो भएपछि यो गर्छु, त्यसपछि यो गर्छु त भनिरहनुभएको छ ।’ ‘गठबन्धन सरकार छ माओवादीले अहिलेसम्म ओलीलाई समर्थन दिइरहनुभएको छ । प्रधानमन्त्रीले प्रष्ट रुपमा राजीनामा दिन्न भन्नुभएको छ । माओवादीको समर्थन फिर्तापछि, प्रधानमन्त्रीले कि समर्थन जुटाउनुहुन्छ होइन भने अर्को विकल्प दिनुहुन्छ प्रधानमन्त्रीको लाइन क्लियर छैन र ?’ उहाँको प्रश्न थियो ।
उहाँले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको लाइन प्रष्ट नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म सरकारमा जाँदिन पनि भन्ने फेरि कहिले म आफैं बन्छु पनि भन्ने देउवामा ढुलमुले चरित्र छ ।’ अध्यक्ष ठाकुरले केपी ओलीको नेतृत्वमा सरकार छ र उहाँमा सबै मुद्धालाई समाधान गर्ने क्षमता भएकाले आफ्नो मुद्धालाई समर्थन गर्ने नेतालाई साथ दिन चाहेको बताउनुभयो । उहाँले भन्नुभयो,–‘ओलीको हातमा सत्ता छ त्यहाँबाट हाम्रो काम भइरहेको छ, कुरा मिलिसकेको छ अब प्रक्रिया मात्रै बाँकी हो ।’