काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालस्थित शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)का प्रतिनिधि क्यारोलिन स्पानुथ वर्माले भेटघाट गर्नुभएको छ ।
सिंहदरबारस्थित कार्यकक्षमा आज भएको भेटमा अध्यक्ष तिमिल्सिनाले यूएनएचसीआरले विश्वभरका शरणार्थी र राज्यविहीन व्यक्तिको हकका लागि गरिरहेको कामप्रति आभार व्यक्त गर्नुभयो ।
यस संस्थाले स्थापना कालदेखि विश्वभर छरिएर रहेका करीब पाँच करोड शरणार्थीलाई सहयोग गरेको जानकारी पाउँदा खुशी लागेको उहाँले बताउनुभयो ।
नेपालमा रहेका एक लाख १३ हजार ५०० भुटानी शरणार्थीको अन्य आठ देशका पुनर्वास गरिएको छ,’ अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “यसका लागि यूएनएचसीआरको भूमिकाप्रति धन्यवाद दिन चाहन्छु ।” अब नेपालमा करीब १९ हजार शरणार्थी रहेका छन्, यहाँहरुको व्यवस्थापनमा पनि यहाँहरुको पक्कै ध्यान पुगेको होला । अध्यक्ष तिमिल्सिनाले कोरोना–१९ र अन्य स्वास्थ्य समस्यामा परेका शरणार्थीको सेवामा समेत उच्चआयुक्तको कार्यालयले गरेको कामको प्रशंसा गर्नुभयो । भेटमा उच्चायुक्त कार्यालयका नेपाल प्रतिनिधि स्पानुथ वर्माले शरणार्थी व्यवस्थापनमा नेपाल सरकारले खेलेको सकारात्मक भूमिकाप्रति आभार व्यक्त गर्नुभयो ।
सरकारले शरणार्थीलाई पनि नेपाली सरह शिक्षा, स्वास्थ्यलगायतका सेवा दिएकोमा संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो ।