काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक फोटो प्रतियोगिताका विजयी तथा सिपाही र शिवपुरी जर्नल २०७७ का उत्कृष्ट लेखकलाई पुरस्कार प्रदान गर्नुभएको छ ।
सैनिक–जनसम्पर्क तथा सूचना निर्देशनालय स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति थापाले उहाँहरुलाई नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गर्नुभएको हो ।
विभिन्न कालखण्डका तस्बिर इतिहासका जिवन्त अभिलेख हुने भएकाले सेनाले तस्बिर सङ्कलन र तीनको सुरक्षा गर्ने उद्देश्यले श्रव्यदृश्य अर्काइभ केन्द्र स्थापना गरेको छ । सेनाका विभिन्न संरचना तथा सकल दर्जासँग रहेका सैनिक गतिविधिसँग सम्बन्धित सङ्कलन गर्ने महत्वपूर्ण कडीका रुपमा प्रतियोगिता सञ्चालन गरेको बताएको छ ।
समारोहमा लेख रचनातर्फ महासेनानी विमलराज शर्मा प्रथम, ठाकुरप्रसाद बराल द्वितीय र अवकाश प्राप्त सहायकरथी धर्मबहादुर बानियाँ तृतीय घोषित हुनुभयो ।
उहाँका लेखलाई क्रमशः रु ५० हजार, रु ३५ हजार र रु २५ हजार प्रदान गरियो ।
सैनिक फोटो प्रतियोगितामा भैरवनाथ गणले पहिलो र तेस्रो स्थान प्राप्त ग-यो भने द्वितीय पुरस्कार भने श्रीजंगणले जित्न सफल भयो । समारोहमा व्यवसायिक फोटोतर्फ श्रव्यदृश्य तथा समारोह महाशाखाका राजीव हेङ्गजुको तस्बिरलाई वर्षको उत्कृष्ट घोषित गरियो । उक्त तस्बिरका लागि सर्जकलाई रु १५ हजार नगद र प्रमाणपत्र प्रदान गरियो । उक्त विधामा सान्त्वनातर्फ छनौट भएका २२ जनालाई जनही रु १०/रु १० हजार प्रदान गरिने सेनाले जनाएको छ । सेनाले पहिलो पटक यसखाले फोटो प्रतियोगिता आयोजना गरेको हो ।
समारोहमा प्रधानसेनापति थापाले फोटो प्रतियोगिता मूल्याङ्कन समितिका फोटो पत्रकार प्रदीपराज वन्त, किशोर शर्मा र महासेनानी ईश्वरकुमार श्रेष्ठलाई नगद र कदरपत्र प्रदान गर्नुभयो ।
लेख रचना मूल्याङ्कन समितिका प्राध्यापक कमलसिंह राठौर, प्राडा ध्रवकुमार कार्की, रवीन्द्र खनाल र महासेनानी पद्मबहादुर बुढालाई पनि नगद पुरस्कार र कदरपत्र प्रदान गरियो ।
यसअघि समारोहमा फोटो मूल्याङ्कन समितिका फोटो पत्रकार वन्तले अप्रेशन कार्य, तालिम, खेलकुद, नागरिक सैनिक सम्बन्ध, समारोह र विविध गरी ६ विधामा आधारित रही तस्बिर छनौट गरिएको जानकारी दिनुभयो । प्रतियोगितामा विभिन्न विधामा प्राप्त करिब दुई हजार ४०० फोटामध्ये ३०० वटा तस्बिर छनौट गरी बोडमा पेश गरिएकामा अन्तिम प्रतिस्पर्धाका लागि २५ वटा छनौट गरिएको थियो । सोही २५ मध्येबाट पहिला, दोस्रा र तेस्रा तस्बिर छनौट गरिएको उहाँले जानकारी दिनुभयो । लेखरचना छनौट समितिका सदस्य रवीन्द्र खनालले पाँच जनाको समितिले ६ विधामा प्राप्त लेख रचना अनुसन्धानसहितको पाटोबाट अध्ययन र विश्लेषण गरी उत्कृष्ट लेख छनौट गरिएको जानकारी दिनुभयो ।
सैनिक सङ्गठनका महत्वपूूर्ण अङ्गका रुपमा रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक हाल सन्तोष बल्लभ पौडेल हुनुहुन्छ ।