नयाँदिल्ली । चर्चित भारतीय क्रिकेट खेलाडी सचिन तेन्दुलकर अस्पताल भर्ना हुनुभएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भएको पाँच दिनपछि उहाँ अस्पताल भर्ना हुनुभएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । उहाँको स्वास्थ्य अवस्था झन् झन् बिग्रिँदै गएपछि थप उपचारको आवश्यकता रहेको भन्दै चिकित्सकहरुले अस्पताल भर्ना हुन सुझाव दिएका थिए ।
खेलाडी तेन्दुलकर कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भए पनि उहाँका परिवारजनको परीक्षण गर्दा भने सङ्क्रमण नभएको देखिएको छ । शुक्रबार उहाँले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ, “मेरो स्वास्थ्यप्रति चिन्ता र चासो जनाउँदै स्वास्थ्य लाभको कामना गर्नुभएका सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु ।”
उहाँले चिकित्सकहरुको सुझावका आधारमा आफू अस्पताल भर्ना भएको र आफू चाँडै नै निको भएर घर फर्किने विश्वाससमेत व्यक्त गर्नुभयो । खेलाडी तेन्दुलकरले अरु सबैलाई सुरक्षित रहन र सतर्कता अपनाउन पनि सामाजिक सञ्जालमार्फत आह्वान गर्नुभएको छ । सन् १९७३ को २४ अप्रिलमा भारतको मुम्बईमा जन्मिनु भएका तेन्दुलकर भारतको क्रिकेट टोलीको कप्तान हुनुभएको थियो । सन् २०११ क्रिकेट विश्वकप भारतले जित्दा भारतीय खेलाडीको टोलीको नेतृत्व तेन्दुलकरले नै गर्नुभएको थियो । उहाँले भारतको लागि ६ क्रिकेट विश्वकप खेल्नुभएको छ ।
उहाँले सन् १९८९ मा पाकिस्तानविरुद्ध कराँचीमा भएको टेस्ट खेलबाट आफ्नो खेल जीवन प्रारम्भ गर्नुभएको थियो । टेस्ट तथा एक दिवसीय क्रिकेट गरी दुवैमा सर्वाधिक रन तथा शतक बनाउने इतिहास पनि उहाँकै नाममा छ । टेस्ट क्रिकेटमा ४९ शतक तथा एक दिवसीय क्रिकेटमा ५१ शतक बनाउनुभएको छ भने पुरुष समूहको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो शतक बनाउने पहिलो खेलाडी पनि तेन्दुलकर नै हुनुहुन्छ । (रासस/एएनआई)