काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढ्दै गएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैखाले भिडभाडजन्य गतिविधि रोक्न निर्देशन दिएको छ ।
बुधबार मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्राडा जागेश्वर गौतमले भिडभाड हुने सबै गतिविधि बन्द गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई अपील गरेको हो ।
संक्रामक रोग ऐन अनुसार प्रमुख जिल्ला अधिकारीलाई सबै प्रकारका भिडभाड रोक्न मन्त्रालयले अपील गर्नुभएको हो । ‘कुनै पनि जुलुश, भिडभाड, सभा, सम्मेलन, सेमिनार, गोष्ठी, भेलाहरु पनि स्वास्थ्य मन्त्रालय अपील गर्दछ’ उहाँले भन्नुभयो ।
नेपालमा पछिल्लो समय पुनः कोरोना संक्रमण बढ्दै गएको भन्दै सावधानी अपनाउन मन्त्रालयले सबैमा आह्वान गरेको छ। पछिल्लो २४ घण्टामा १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीन हजार १९ जनाको पीसीआर परीक्षण गर्दा १६२ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।
प्रेस ब्रिफिङका क्रममा डा. गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंमा ५०, ललितपुरमा १३ र भक्तपुरमा ४ गरी ६७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

























