काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्ता बढाउने बताउनुभएको छ । आज रिपोर्टर्स क्लवको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुनुभएका उहाँले सो घोषणा गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो ‘सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ । यो सुन्दा मान्छेहरूलाई अर्को छट्पटी शुरू होला । कसैलाई आपत्ति लाग्छ भने लागोस् । कसैलाई निद्रा लाग्दैन भने पनि नलागोस् ।’
सो कार्यक्रमा बोल्नुहुँदै प्रधानमन्त्रीले पार्टी मिलाइदिने काम अदालतको नभएको जिकिर गर्नुभयो । उहाँले अदालतले पार्टी मिलाउने काम गर्ने भए आफू पनि जनता समाजवादी पार्टी एमालेमा मिलाइपाउँm भन्ने मागसहितको निवेदन लिएर अदालत जाने भन्दै व्यंग्य गर्नुभयो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाविरुद्ध पुनरावेदन रिट लिएर सर्वोच्च अदालत पुगेकैे दिन प्रधानमन्त्री ओलीले उक्त प्रतिक्रिया जनाउनुभएको हो ।
‘प्रधानमन्त्री ओलीले अदालतमा गएर एमाले र माओवादी एक नहुने बताउनुभयो । उहाँले दाहाललाई मिल्ने बाटोमा नहिँडेको पनि बताउनुभयो । उहाँले प्रचण्डलाई आफ्नो उमेर र समयलाई ध्यान दिनसमेत आग्रह गर्नुभयो । पहिलेको जस्तो ह्याकुलाले मिचेर हिँड्ने शैली त्याग्न उहाँले प्रचण्डलाई सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो ‘अदालतले नमागेको न्याय दियो भन्नुभएको छ । तपाईंले नमागेको थियो होला, ऋषि कट्टेलले त मागेको थियो नि त । अर्काको नाममा पार्टी दर्ता गरेर ह्याकुलाले मिच्न खोज्ने ?’ उहाँले भन्नुभयो, ‘उहाँहरूको मिच्ने बानी परेको क्या । जे गरे पनि हुने, विनाश गरे पनि हुने, लुटे पनि हुने, कुटे पनि हुने, काटे पनि हुने ।’
उहाँले भन्नुभयो, ‘ती दिन गए प्रचण्ड जी, त्यो अब चल्दैन थ्यो । एउटा समय थियो ममात्रै बोल्थेँ । तपाईंका हतियार, लडाकुसँग डराउने समय थियो । तर, म नडराइ बोल्थेँ, लल्कार्थेँ । आज त तपाईंका कथित सेना पनि छैन । हतियार पनि छैन । ती दिन त गए त अब ।’
त्यसैगरी प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले जनपक्षीय काम गर्दा हटाउन खोजेको बताउनुभयो । उहाँले विकास र जनताका पक्षमा राम्रा काम गरेकाले विपक्षी आत्तिएको र आफूलाई हटाउन खोजेको बताउनुभयो ।