काठमाडौं । नेकपा एमालेले परिवर्तित सन्दर्भमा पार्टी नेता कार्यकर्ताका लागि अन्तर पार्टी निर्देशन (अपानी) जारी गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गर्नु भएको २० पन्ने अन्तरपार्टी निर्देशनमा चैत ७ गते बसेको बैठकको निर्णयबारे पार्टीकातल्ला कमिटिहरुलाई जानकारी गराइएको छ ।
चैत १३ गते जारी अन्तरपार्टी निर्देशनमा सर्वसम्मत ढङ्गले निर्वाचित संसदीय दलको नेतालाई सडकबाटै हटाइएको घोषणा गर्ने, महाधिवेशनबाट निर्वाचित पार्टी अध्यक्षलाई साधारण सदस्य समेतबाट निष्काशन गर्ने तथा पार्टीका विभिन्न नेताहरूलाई कार्बाही गर्ने जस्ता कुकृत्यहरू हुनुका साथै श्रमजीवी वर्गको सरकार ढालेर बुर्जुवा वर्गलाई नेतृत्व हस्तान्तरण गर्ने षडयन्त्र भएको उल्लेख छ ।
निर्देशनमा भनिएको छ “केही नेताहरूका निहित स्वार्थ, गुटगत क्रियाकलाप र विभाजनकारी गतिविधिका कारण तीन वर्ष अगाडि सुरु गरिएको पार्टी एकीकरणको प्रक्रिया भङ्ग भयो । त्यति मात्र नभएर गालीगलौज, अमर्यादित र असभ्य आरोप लगाएर कम्युनिष्ट आन्दोलनप्रति आम जनतामा वितृष्णा पैदा गर्ने गतिविधि गरियो । सही विचार, सही धार र नेतृत्वलाई समाप्त पार्ने योजना अनुरुप प्रतिक्रियावादी शक्तिहरूसँगको साँठगाँठमा प्रधानमन्त्री हटाउने प्रयास गरिए । यसै प्रयोजनका लागि सर्वसम्मत ढङ्गले निर्वाचित संसदीय दलको नेतालाई सडकबाटै हटाइएको घोषणा गर्ने, महाधिवेशनबाट निर्वाचित पार्टी अध्यक्षलाई साधारण सदस्य समेतबाट निष्काशन गर्ने तथा पार्टीका विभिन्न नेताहरूलाई कार्बाही गर्ने जस्ता कुकृत्यहरू पनि भए । प्रतिनिधिसभा पुनस्र्थापनाको घोषणा हुनासाथ अबिर जात्रा गर्ने र विपक्षी पार्टीलाई प्रधानमन्त्री बनाउन घर–घर धाउने कुराले नै साथीहरूको मनसाय के थियो भन्ने प्रष्ट पार्छ । त्यसैले यो वर्गीय लडाइँ थियो, श्रमजीवी वर्गको सरकार ढलाएर बुर्जुवा वर्गलाई नेतृत्व हस्तान्तरण गर्ने योजना अन्तरगतको षडयन्त्र थियो ।
यस सङ्कटको घडीमा पार्टी पङ्क्ति र नयाँ पुस्ता दृढतापूर्वक नेतृत्व र आन्दोलनको रक्षामा उभियो । पूर्व माओवादी पृष्ठभूमिका कतिपय कमरेडहरूलाई राजनीतिक र कानूनी असहजताहरू थिए, तर पनि उहाँहरू आन्दोलनलाई सही दिशा दिने यस अभियानमा दह«ो गरी उभिनु भयो । प्रतिवद्ध नेता कार्यकर्ताहरूको सक्रियता र आम जनताको साथ– सहयोगले आज कम्युनिष्ट आन्दोलन षडयन्त्रको चक्रव्यूहबाट बाहिर आउन सफल भएको छ ।” निर्देशनमा भनिएको छ ।
पार्टीभित्र अब गुटबन्दी नचल्ने उल्लेख गर्दै अध्यक्ष ओलीले विद्यमान गुटबन्दीविरुद्ध कठोर हुने संकेत पनि गर्नु भएको छ । निर्देशनमा भनिएको छ ‘हामी विगतमा अलमलिएका, भड्काउपूर्ण चिन्तन र गतिविधिमा सङ्लग्न रहनुभएका साथीहरूलाई पार्टीमा फर्किन आह्वान गर्छौं, विगतका तिक्ततालाई बिर्सेर सबैलाई स्वागत गरिने छ । सबैलाई सम्मानपूर्वक काम दिइने छ, कसैप्रति पनि पूर्वाग्रह राखिने छैन । पार्टी विचारमा आधारित संस्था हो, यो गुटहरुको संयुक्त मोर्चा होइन, त्यसैले अब गुटबन्दीलाई कुनै हालतमा प्रश्रय दिइने छैन । अब कसैलाई गुटगत रुपमा मान्यता दिइने छैन ।’
त्यस्तै संसदको पहिलो बैठकको परिदृश्य र त्यस यताका घटनाक्रमले ताजा जनादेशको आवश्यकता र औचित्यलाई पुष्टि गर्दै लगेको उल्लेख गर्दै प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले पार्टीका कार्यकर्तालाई जुनसुकै बेला निर्वाचनमा जान तयार रहने गरी क्रियाशील हुन निर्देशन समेत दिनु भएको छ ।
अदालतको आदेशलाई कार्यान्वयन गर्दै विद्यमान राजनीतिक शक्ति सन्तुलनभित्रै राजनीतिक स्थायित्व र स्थिरताका लागि आफूहरुको प्रयास केन्द्रित हुने तर सबै विषय आफ्नो इच्छा वा निर्णयमा मात्र निर्भर नहुने पनि ओलीले प्रस्ट पारेका छन् ।
उहाँले भन्नु भएको छ “सरकारमा रहँदा जनता र देशको हितमा अधिकतम परिणाम दिने गरी काम गर्ने, प्रतिरक्षामा रहनु परे तदनुरुप कै प्रभावकारी भूमिका खेल्ने र जुनसुकै पनि बेला निर्वाचनमा जान तयार रहने गरी हाम्रो पार्टी पङ्क्ति क्रियाशील हुनु पर्छ ।’