काठमाडौं । एनआईसी एशिया बैंकले अनलाइन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको लागत रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकद्वारा जारी ‘अनलाइमार्फत् विदेशबाट वस्तु तथा सेवा खरिदबापतको भुक्तानी गर्ने प्रयोजनका लागि सो कार्ड सार्वजनिक गरेको हो ।
बैंकले अमेरिकी डलरमा आधारित प्रिपेड कार्डको व्यवस्था गरेको छ । ख्क्ष्क्ब् कार्डमा आधारित कार्डमार्फत् ग्राहकहरूले वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको अनलाइन किनमेल गरी भारत र भुटान बाहेक विश्वका अन्य मुलुकमा भुक्तानी गर्न सक्नेछन् ।
कार्ड प्राप्त गर्नका लागि ग्राहकहरूको केवाइसी विवरण अद्यावधिक गरिएको खातासँगै प्यान कार्ड हुनुपर्ने जनाइएको छ । यस सुविधामार्फत ग्राहकहरूले स्वदेशमै रहेर पनि प्रतिष्ठित अन्तर्राष्ट्रिय ई–कमर्श प्लाटफर्ममार्फत् किनमेल गर्न सहज हुने बैंकले जनाएको छ । उक्त कार्ड जारी गर्दा बैंकले कार्ड शुल्कबापत निश्चित रकम लिनेछ भने पहिलोपटक डलर लोड गर्दा निःशुल्क हुने व्यवस्था समेत गरेको छ ।
ग्राहकहरूले एकैपटक वा पटक–पटक गरी एक वर्षमा अधिकतम ५ सय अमेरिकी डलर बराबर सटही गरी कार्डमा लोड गर्न सक्ने व्यवस्था गरिएको छ ।
यो बैंक मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउन्टर एवं ८० वटा शाखारहित बैंकिङमार्फत् सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । २२ लाखभन्दा बढी ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।
बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब २ अर्ब ६५ करोडभन्दा बढी राजस्व सरकारलाई भुक्तानी गरिसकेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।