काठमाडौं । केही दिनदेखि काठमाडौं उपत्यकाको अधिकतम तापक्रममा कमी आएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पाँच दिनअघि काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियस पुगेकोमा अहिले घटेर २५ देखि २७ डिग्री सेल्सियसको हाराहारीमा छ ।
महाशाखाका मौसमविद्का अनुसार काठमाडौं उपत्यकाको वायुमण्डलको तल्लो भागमा तुवाँलो, त्योभन्दा माथि बादल र केही धुलोका कणसमेत रहेका कारण घाम राम्ररी लाग्न नसक्दा तापक्रम घटेको हो । तराई तथा हिमाली क्षेत्रमा खासै समस्या नदेखिए पनि काठमाडौं उपत्यका लगायतका क्षेत्रमा भने वायुमण्डल धुम्मिएका कारण तापक्रम घटेको हो । मुख्यतया वायुमण्डलको तल्लो तहमा धुवाँ छ, त्योभन्दा माथि बादल र भारतबाट आएका केही धुलोका कणले गर्दा घामलाई छेकिएको छ । घाम छेकिएपछि स्वाभाविक रुपमा तापक्रम घटेको मौसमविद्को भनाइ छ ।
मंगलबारबाट यो अवस्थामा केही सुधार आउने भए पनि पूर्ण रुपमा सुधार आउन समय लाग्नेछ । यो अवस्थामा पूर्ण सुधार आउन कि त ठूलै हुरी चल्नुपर्छ, कि त ठूलै पानी पर्नुपर्ने धारणा मौसमविद्को छ । उपत्यकामाथिको वायुमण्डल एकप्रकारले जाम भएको र त्यसलाई हुरीले हटाएमा वा ठूलै वर्षा भएर बादल तथा धुलोका कणलाई हटाएमा मात्र पूर्ण रुपमा सुधार हुने देखिन्छ ।