काठमाडौँ । गत शुक्रबारदेखि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा एक्कासि देखिएको तुवाँलो अझै कायम रहने भएको छ । तुवाँलोको मुख्य कारण डढेलो नै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
उहाँका अनुसार पछिल्लो समय नेपाल तथा भारतको केही स्थानमा लागेको डढेलोको कारण प्रदूषणको कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई तुवाँलो देखिएको हो । तुवाँलो हट्नका लागि वायुको वेग बढ्नुका साथै वर्षा हुनुपर्छ । “भोलि अपरान्हपछि पश्चिमी वायु सक्रिय हुने देखिएको छ,” उहाँले भन्नुभयो । यसले हावाको वेग बढ्नुका साथै फाटफुटको वर्षाको सम्भावना देखिएकाले मौसम केही सफा हुने बताइएको छ ।
प्रदूषित वायुमण्डल सफा हुनका लागि कित वर्षा हुनुपर्छ वा हावा चल्नुपर्छ अहिले त्यो भएको छैन । धेरै किसिमको प्रदूषण मिसिएका कारणले सर्वसाधारणले आँखा पोलेको महसुस गरेका छन् ।
यसबाट हुने प्रदूषणका कारण स्वास्थ्यमा पर्ने नकारात्मक असर आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या आदिबाट बच्न आवश्यक कार्यबाहेक घर बाहिर ननिस्किन र निस्किनु परेमा मास्क लगाउन हुन तथा आवश्यक सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालका अधिकांश जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी पर्नुका साथै हावा नचेलेका कारणले सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई पारदर्शिता घटेको छ ।
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । दिउँसो प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशको पहाडी भू–भागका एक,दुर्ई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ८ डिग्री र अधिकतम तापक्रम २४ दशमलव ८ डिग्री सेल्सियस रहेको छ ।
त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्री र सबै भन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।