काठमाडौं । चीनले नेपाललाई कोभिड-१९ विरुद्धको खोप भेरोसेल नेपाललाई आज हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रममा आठ लाख डोज सो खोप नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्नुभयो । चीनले नेपाललाई सो खोप उपहार स्वरुप उपलब्ध गराएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप आज बिहान काठमाडौं आइपुगेको हो ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाजबाट कोरोनाविरुद्धको खोप काठमाडौं ल्याइएको हो ।
नेपाल एयरलाइन्सको जहाज खोप लिन आइतबार अपराह्न चीनको राजधानी बेइजिङ गएको थियो ।
चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको सो खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । यो खोप दुई मात्रा लगाउनुपर्छ ।
विभिन्न परीक्षणहरूमा चिनियाँ खोप नेपालले हाल प्रयोग गर्दै आएको कोभिशील्ड खोपभन्दा बढी प्रभावकारी देखिएको बताइएको छ । यसअघि भारत सरकारले भारतकै सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोपको १० लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो ।