काठमाडौँ । विश्वमै महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण यसपालिको फागूपूर्णिमा अर्थात् होलीको रौनकतामा कमी आएको छ । कोरोनाको जोखिम बढेकाले आपसी खुसीयाली साटासाट गरेर मनाउने फागु पर्वमा उत्साह कम भएको हो ।
विगत वर्षहरुमा ठाउँठाउँमा विभिन्न कार्यक्रम गरी होली मनाइएको थियो तर यो साल भने त्यस्ता ठूला कार्यक्रमहरु भएको देखिँदैन । यद्यपि विभिन्न सङ्घ संस्थाका कर्मचारीहरुले आफूआफूमा रङ दलेर होली मनाएको पाइएको छ भने युवाले साना–साना समूह बनाएर आपसमा फागु दल्दै होली खेलेको पाइएको छ ।
उपत्यकाका विभिन्न क्षेत्रमा सामान्य रुपमा होली मनाइएको पाइए पनि होलीका ठूला समारोह भने देखिएको छैन । प्रहरीले त्यस्ता समारोह आयोजना गरिएको भए पनि ठुलो जमघट हुने गरी होली नखेल्न आग्रह गरेको छ ।
प्रहरीका अनुसार यसपाली कोभिड–१९ जोखिमका कारण अहिलेसम्म मुलुकभर नै रौनक कम देखिएको र शान्तिसुरक्षामा खलल हुने कुनै गतिविधि भएको छैन । केही साना समूहमा होली खेलिरहेको देखियो । प्रहरीले ठूलो भिडभाड हुन नदिन त्यस्ता गतिविधिलाई निरुत्साहित गरिरहेको थियो । त्यसैले विगतका वर्षमा भन्दा यसपालि कोरोनाका कारण होली पर्वमा उत्साह कम देखिएको छ ।
विभिन्न क्षेत्रका नागरिकले आ–आफ्नै परिवारका साथ घरभित्र होली खेलेर यो पर्व मनाए । उनीहरुले घर परिवारले खेलेको होली सामाजिक सञ्जालबाट श्रव्यदृष्य र तस्वीरमार्फत सार्वजनिक गरेका छन् ।
यस्तै गरी पश्चिम नेपालमा पनि आफ्नै घरपरिवारका साथ होली मनाएको छ । कोभिड–१९ को जोखिम बढेकाले छ समूहमा होली नखेल्न सरकारले अनुरोध गरेकाले सामान्य रुपमा होली मनाएको प्रतिक्रिया सहभागीहरुले दिएका छन् । घर परिवारमै गीतसङ्गीतका साथ होली मनाएको उनीहरुको भनाइ छ ।
यद्यपि काठमाडौँको सुन्धारा, रत्नपार्क, न्युरोड, वसन्तपुरलगायत खुला र सार्वजनिक क्षेत्रमा भने होली खेल्ने युवाको जमात अन्य क्षेत्रको तुलनामा केही बाक्लो देखिएको छ ।
सरकारले घर–घरमै बसेर स्वास्थ्य मापदण्ड अपनाइ होली खेल्न यसअघि नै अनुरोध गरिसकेको छ । लापरवाही गरे वा स्वास्थ्य मापदण्डको पालना नगरे सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही गर्ने चेतावनीबीच युवाले सडकमा निस्किएर होली मनाएका छन् ।
सडकमा निस्किएका उनीहरुमध्ये धेरैले मास्क प्रयोग गरेका थिएनन् भने सामाजिक दूरीसमेत कायम गरेको पाइएन । नाम नबताउने शर्तमा होली खेल्दै गरेका एक युवाले आफ्नै साथीसङ्गीबीच होली खेलिएकाले मास्क नलगाएको बताउनुभयो ।
आज मुलुकको पहाडी जिल्लामा होली मनाइयो । सोमबार तराईका जिल्लामा होली मनाइन्छ । चितवनलगायत केही जिल्लामा भने दुबै दिन होली मनाउने चलन छ । वसन्त ऋतुको आगमनसँगै आउने होली आपसी मेलमिलाप र सद्भावनाको सन्देश आदानप्रदान गर्दै मनाइन्छ । यस दिवसमा परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । काठमाडौँको वसन्तपुरमा गाडिएको चीरलाई आजको दिन विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाइने परम्परा छ ।
त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने बरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर प्रह्लादलाई आगोले छुन नसकेको कथासँग होली पर्व जोडिन्छ । त्यसैले खुशीमा आपसी रङ दलेर होली मनाइने गरिन्छ ।
अर्को परम्पराअनुसार द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिएको घटनासँग पनि होली पर्व जोडिने गरेको छ ।
होलीको अवसरमा अवाञ्छित गतिविधि बढ्नसक्ने, लापरवाहीपूर्वक सवारी सञ्चालन हुनसक्ने र भिडभाड हुनसक्ने सम्भावित जोखिमलाई मध्यनगर गरी काठमाडौँ उपत्यकामा प्रहरीले कडा सुरक्षा अपनाएको छ ।
ठाउँठाउँमा प्रहरी परिचालन गरेरर ट्राफिक जाँचलाई तीव्रता दिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो । “आजको दिन बिहानैदेखि साँझसम्मै सवारी जाँचका लागि ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ, यातायातमा कुनै लापरवाही हुने वित्तिकै कारवाही हुन्छ”, भट्टराईले भन्नुभयो, “सामान्य लापरवाही गरेकालाई दिनभर सवारी होल्डमा राख्छौँ, कानून उल्लङ्घन गरेकालाई कारवाही गरिरहेका छौँ ।”