काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनप्रति दु:ख व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले शनिबार विज्ञप्ति जारी गर्दै कांग्रेस नेता जोशीको निधनमा दु:ख व्यक्त गर्नुभएको हो । प्रधानमन्त्रीले काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा गए राति कांग्रेसका नेता जोशीको निधन भएको खबरले आफूलाई अत्यन्त दुःख लागेको विचार व्यक्त गर्नुभएको छ । उहाँले यस दुःखद् घडीमा दिवंगत नवीन्द्रराज जोशीप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवारजन, शुभचिन्तक र नेपाली कांग्रेसका नेता–कार्यकर्ताप्रति गहिरो समवेदना प्रकट गर्नुभयो ।
प्रधानमन्त्री ओलीले लोकतान्त्रिक आन्दोलनमा जोशीको योगदान महत्वपूर्ण रहेको पनि स्मरण गर्नुभएको छ । लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान गर्नुभएको जोशीले नेपाली कांग्रेसभित्र निष्ठावान, इमान्दार, जुझारु छवि निर्माण गर्नुभएको उहाँले स्मरण गर्नुभयो ।
नेता जोशीको शुक्रबार राति निधन भएको थियो । ०६४ र ०७० सालमा संविधान सभाका सदस्य रहेका जोशी ०७३ सालमा मन्त्री समेत बन्नुभएको थियो ।