कास्की । पोखरामा आयोजना गरिएको वार्जन प्रिजेन्टस् ‘प्रथम खुला फुटसल प्रतियोगिताको उपाधि घरेलु टोली ‘टिम डुङ्गा’ले जितेको छ ।
चैत १० गतेदेखि पोखरा महानगरपालिका–४ गणेशटोल स्थित स्पोर्टस क्यासलमा आयोजित प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा ढुकु फुटसल हब काठमाडौँलाई टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै डुङ्गाले उपाधि जितेको हो ।
उपाधि विजेता टोली डुङ्गाले रु. तीन लाख नगद र ट्रफी पुरस्कार प्राप्त ग-यो भने उपविजेतामा चित्त बुझाएको काठमाडौँले रु. एक लाख ५० हजार पुरस्कार पायो ।
निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षक डुङ्गाका अनिश श्रेष्ठ घोषित हुँदै रु. ३५ हजार पुरस्कार प्राप्त गर्नुभयो ।
यसैगरी उदीयमान खेलाडीका रुपमा फङ्की विन्सका अविनाश तामाङ घोषित हुँदै रु. १० हजार पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगिताको अनुशासित टोलीका रुपमा स्पोर्टस् क्यासलले शिल्ड प्राप्त ग¥यो । विजेता तथा उपविजेता टोलीका खेलाडीलाई राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य-सचिव रमेशकुमार सिलवाल, राखेप बोर्ड सदस्य राजेश गुरुङलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रतियोगिता समापन समारोहमा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान तथा प्रशिक्षक राजुकाजी शाक्यलाई दोसल्ला तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । नेपाली फुटबल खेलको विकासमा उहाँले पु¥याउनुभएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ । सो अवसरमा सदस्य सचिव सिलवालले निजी सङ्घसंस्थाको आयोजनामा पोखरामा फुटसलमा सर्वाधिक नगद पुरस्कार राशिको प्रतियोगिता आयोजना गरिनु प्रशंसनीय रहेको बताउनुभयो । ‘स्वास्थ्यका लागि खेलकूद’ भन्ने नारासहित आयोजना गरिएको प्रतियोगितामा देशका विभिन्न भागबाट गरी २७ टोलीको सहभागिता थियो ।