काठमाडौं । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउने कार्यमा सहयोग पु–याउने उद्देश्यले नेपाली सेनाले क्याडेटलाई स्वयंसेवकको भूमिकामा खटाएको छ ।
राष्ट्रिय सेवा दलद्वारा सञ्चालित अभिमुखीकरण कक्षाबाट प्रशिक्षित क्याडेटहरु गत मंगलबारबाट १० दिनका लागि काठमाडांै र भक्तपुर जिल्लाका विभिन्न स्थानहरुमा बिहान र बेलुकाको समयमा परिचालन गरिएको नेपाली सेनाले जनाएको छ ।
राष्ट्रिय सेवा दल मुख्यालय र महानगरीय ट्राफिक प्रहरी महाशाखाको कार्यालयमा ५० जना क्याडेटहरुलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वयमा दुईदिने ट्राफिक अभिमुखीकरणसम्बन्धी कक्षा सञ्चालन गरिएको थियो ।
राष्ट्रिय सेवा दलले प्रशिक्षित क्याडेटहरुको सहभागितामा विभिन्न मानवीय सेवा तथा विपदको समयमा स्वयंसेवकका रुपमा खटाई जनचेतनामूलक तथा सामाजिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको सेनाले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।