बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी प्रकरणमा अभियुक्तको डीएनए रिपोर्ट आएको छ । सो रिपोर्टमा अभियुक्त दिनेश भट्टको डीएनए म्याच भएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा डीएनए मिलेको बताउनुभयो । ‘अभियुक्त र मृतकको डीएनए रिपोर्ट मिलेपछि अनुसन्धान प्रक्रिया सहज ढंगले अगाडि बढ्ने भएको छ,’ उहाँले भन्नुभयो ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीस्थित सनातन माध्यमिक विद्यालयमा अध्ययनरत् भागरथी गएको माघ २२ गते मृत अवस्थामा फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या भएको खुलेको थियो । प्रहरीले हत्यामा संलग्न आरोपमा भागरथीकै आफन्त दिनेश भट्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।
बलात्कार र हत्याको आरोपमा पक्राउ परेका अभियुक्त दिनेश भट्टलाई जिल्ला अदालत बैतडीको आदेश पछि पुर्पक्षका लागि बालसुधार गृह डोटीमा राखिएको छ ।