काठमाडौं । सैनिक कल्याणकारी बोर्डको समन्वय, संयोजकत्व र नेपाली सेनाको व्यवस्थापनमा नं. १ प्रदेशका भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनको सहभागितामा ‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार, आत्मसम्मान तथा समृद्धिको आधार’ भन्ने मूल नाराका साथ पूर्वी पृतना इटहरीमा आयोजना भएको प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलन–२०७७ सम्पन्न भएको छ ।
सो सम्मेलनमा १ नं. प्रदेशका १४ जिल्लामा बसोबास गर्ने ६६४३ जना नेपाली सेनाका भूतपूर्व सैनिक तथा परिवारजनको सहभागिता रहेको थियो । सो सम्मेलनलाई सम्बोधन गर्दै प्रधान सेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको संस्थागत मूल्य र मान्यतालाई जीवन्त राख्न अवकाशप्राप्त अग्रज सैनिकहरूले गरेको निःस्वार्थ सेवा तथा भूमिकाको प्रशंसा गर्नुभयो । सम्मेलनले भूतपूर्व र तथा बहालवाला सैनिकहरुबीच सामिप्यता बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो ।
भूपू सैनिकहरुका तर्फबाट अवकास प्राप्त रथीबृन्दहरु तथा भूतपूर्व सैनिक संघका सभापतिबाट सम्बोधन एवं बलाधिकृत रथी प्रभुराम शर्माको मन्तव्यसहित सो कार्यक्रम समापन भएको थियो ।
सम्मेलनमा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्दहरु, कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत, नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत, बहालवाला एवं अवकाशप्राप्त सैनिक तथा परिवारहरु र अन्य आमन्त्रित अतिथि तथा पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
सम्मेलनले अवकाश प्राप्त सैनिक व्यक्तिहरूको अवकाशपछिको जीवनमा थप ऊर्जा र शक्ति प्रदान गर्नुका साथै समाजमा सम्मानीत जीवनयापन गर्दै सेनाप्रति सकारात्मक सोचको विकास एवं राष्ट्रिय एकतामा टेवा दिन हौसला मिल्ने विश्वास नेपाली सेनाले लिएको सेनाद्वारा आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।