काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट केन्द्रमा राखेर स्थानीय सरकारलाई नदिने सोच सरकारले नराखेको बताउनुभएको छ ।
उहाँले बजेट केन्द्रमा नै राख्ने र स्थानीय सरकारलाई नदिने सोचाइ सरकारले कहिल्यै नराखेको बताउनुभयो । ‘त्यस्तो सोच हुनै सक्दैन, थुपारेर राख्ने, फ्रिजमा राखेर के गर्ने ?’ प्रधानमन्त्री ओलीले भन्नुभयो । साथै उहाँले स्थानीय तहसँग खर्च गर्ने क्षमता नभएको बताउनुभयो ।
‘क्षमता भएको ठाउँमा त खर्च नभएर बेहाल छ भने क्षमता नभएको ठाउँमा झन् गाह्रो हुन्छ,’ उहाँले भन्नुभयो ।
स्थानीय तहले कुल बजेटको ७० प्रतिशत बजेट माग गर्नु उपयुक्त नहुने बताउनुभएको छ ।
बुधबार नगरपालिका संघको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुले मुलुकको कुल बजेटको ७० प्रतिशत बजेट स्थानीय तहमा पठाउनुपर्ने बताएका थिए । उनीहरुले बजेटजति केन्द्र सरकारले राखेको गुनासो पनि गरेका थिए ।
तर प्रधानमन्त्री ओलीले स्थानीय तहलाई ७० प्रतिशत बजेट दिएर के गर्ने भनी प्रश्न गर्नुभयो । ‘७० प्रतिशत बजेट के गर्ने ? ओढ्ने ओच्छयाउने हो र ?’ उहाँले भन्नुभयो, ‘त्यसो हो भने प्रदेशले के गर्ने, केन्द्र सरकारले के गर्ने ?’
प्रधानमन्त्री ओलीले जुन सरकारले खर्च गरे पनि अन्तिममा बजेट स्थानीय तहमै पुग्ने बताउनुभयो ।
एक अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले सरकारले काम गरेको जस्तो लाग्दैन र ? भनी प्रश्न गर्नुभयो । सरकारले सडक बालबालिका र सडक मानवमुक्त बनाएको उहाँले बताउनुभयो ।
‘सडक बालबालिका खाते भनेर हिँडिरहेका थिए, नि अहिले देख्नुहुन्छ ?’ उहाँले प्रश्न गर्नुभयो, ‘मान्छेका बच्चा कुकुरसँग लडेर कुकुरसँग मिलेर सुत्थे, तपाईं हामीले सडकभरि देखेको होइन, अहिले कहाँ छन् ? किनभने ती बालबालिकालाई हेर्ने सरकार छ ।’
आफूहरुको प्रयासले सामाजिक क्षेत्रमा नेपाल विकसित देशभन्दा पनि माथि पुगेको प्रधानमन्त्री ओलीले बताउनुभयो । नेपालको संसदमा ३३ प्रतिशत र कुल जनप्रतिनिधिमध्ये ४१ प्रतिशत महिला रहेको भन्दै उहाँले यसलाई ५० प्रतिशत पुर्याउने दावी गर्नुभयो ।
मेलम्चीको पानी चैत १५ देखि काठमाडौंमा वितरण सुरु हुने र २ वर्षभित्रै थानकोट नौबिसे सुरुङ निर्माण पूरा गर्ने पनि उहाँले बताउनुभयो ।