विराटनगर — प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका माधवकुमार नेपाल पक्षका प्रदेशसभा सदस्यहरुले सामूहिक रुपमा फिर्ता लिने भएका छन् ।
नेपाल पक्षका नेता तथा प्रदेशसभाका एक सदस्यले तीन दिनअघि नै शीर्ष नेताहरु बसेर प्रदेश १ र वाग्मती प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर सामूहिक रुपमा फिर्ता लिने सहमति भइसकेको बताउनुभयो ।
शीर्ष नेताहरुको सहमति भएपछि दलको बैठक बसेर निर्णय भएको हो,’ उहाँले भन्नुभयो ‘अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरुको हस्ताक्षर संकलन गरिरहेको र अबको ४/५ दिनभित्र प्रदेशसभा सचिवालयमा सामूहिक रुपमा हस्ताक्षर फिर्ता लिन्छौं ।’
नेपाली कांग्रेसले निर्णय नगरेकाले अहिले अविश्वास प्रस्ताव फिर्ता लिनु परेको उहाँले बताउनुभयो । ‘कांग्रेसले निर्णय नगरेपछि यो विषय कहिले टुंगिने भन्ने नै अन्योल भयो । ४ महिना भइसक्यो संसद् नै चल्न सकेन । त्यसैले अहिले फिर्ता लिने र पछि माथिको अवस्था के हुन्छ सल्लाह गरेर अघि बढ्ने निर्णय भएको छ,’ उहाँले बताउनुभयो । मुख्यमन्त्री राईविरुद्ध हस्ताक्षर गरेका एमालेका नेपाल पक्षका १६ जना प्रदेशसभा सदस्यहरुले हस्ताक्षर फिर्ता लिन बाँकी छ । ९३ सदस्यीय प्रदेशसभा एमालेको ५१ जना प्रदेशसभा सदस्य छन् ।
प्रदेश १ मा पुस १२ गते सत्तारूढ तत्कालीन नेकपाको दाहाल–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । उक्त समूहका ३७ जना प्रदेशसभा सदस्यले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका ४५ सांसदले पुस १० मा प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।
फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले नेकपाको एकीकरणलाई कानुनी मान्यता नदिएपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएका थिए । त्यसपछि भने तत्कालीन नेकपाको नेपाल समूह एमाले नै भएकाले अविश्वास प्रस्ताव फिर्ता लिने–नलिने भन्नेमा नेताहरु अन्यौलमा थिए ।