काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीबाट थापाथली सर्ने भएको छ ।
थापाथलीस्थित नयाँ पार्टी कार्यालयको आज प्रधानमन्त्री केपी शार्म ओलीले निरीक्षण गर्नुभएपछि आगामी वैशाख १ गते सार्ने मिति तय गरिएको हो ।
प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोतिलाल दुगडले वैशाख १ गते पार्टी कार्यालय सारिने बताउनुभयो । उहाँले नयाँ कार्यालय ५ वर्षका लागि सम्झौता गरिएको पनि जानकारी दिनुभयो ।
‘उहाँले वैशाख १ गतेबाट पार्टी कार्यालय सर्ने र त्यसका लागि ५ वर्षको एग्रिमेन्ट गरेको बताउनुभयो ।
उहाँले आफूले घरधनी सञ्जय अग्रवाललाई चिनेका कारण कार्यालय सार्ने विषयमा पहलकदमी लिएको बताउनुभयो ।
पौने चार रोपनी क्षेत्रफलमा फैलिएको भवन साढे २ तलाको छ। यसको कम्पाउन्डमा २५ वटा गाडी पार्किङ गर्न मिल्छ।
यो भवन धुम्वाराहीको भन्दा ठूलो छ । धुम्वाराहीको कार्यालय साँघुरो भएको र त्यसमाथि बृहत्तर चक्रपथ निर्माण पनि भइरहेकाले ‘डिस्टर्ब’ हुने देखेर थापाथली सर्न लागेको दुगडले जानकारी दिनुभयो ।
नयाँ कार्यालय भवनभित्र गेटमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फोटोसमेत राखिसकिएको छ।
पार्टीको कार्यालय सार्नेसम्बन्धी सबै कामको नेतृत्व उपमहासचिव विष्णु पौडेल र प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले गर्नुभएको छ ।
यसैगरी एमालेले पुरानै मुख्यालय भएको स्थान बल्खुमा नै अत्याधुनिक भवन बनाउने भएको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका दिन वैशाख ९ गते भवनको शिलान्यास गर्ने कार्यक्रम छ ।