लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले खेलकूद क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गरिने बताउनुभएको छ । उहाँले खेलकूद क्षेत्रको विकास गर्न प्रदेश सरकारले धेरै महत्व दिइरहेको बताउनुभएको छ । लमजुङ क्व्होलासोथर गाउँपालिको खेलकूद विकास समितिले आयोजना गरेको क्व्होलासोथर गाउँपालिका लिग फुटबल प्रतियोगिताको आज समापन गर्दै उहाँले खेलकूद क्षेत्रको विकासका लागि प्रदेशमै अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्न लागेको बताउनुभयो ।
पोखरामा खेलकूद स्पोर्ट भिलेज निर्माण गर्न लागिएको र पोखरा रङ्गशालाजस्तै अर्को रङ्गशाला निर्माण गर्ने अभियानमा प्रदेश लागेको तथा त्यसको नीति निर्माण गर्ने एवं विस्तृत सर्वेक्षण गर्ने अभियानमा प्रदेश सरकार रहेको मुख्यमन्त्री गुरुङको भनाइ छ ।
आज भएको फाइनल खेलमा यस गाउँपालिकाका–४ भुजुङले क्व्होलासोथर गाउँपालिका लिग कपको उपाधि हात पार्न सफल भएको छ । वडा नं ५ सिम्दीलाई ३ का विरुद्ध चार गोल गर्दै भुजुङले उपाधि चुम्न सफल भएको हो ।
दोस्रो स्थान प्राप्त गर्न सफल सिम्दीले रु ५० हजार, मेडल प्रमाणपत्र प्राप्त गरेको छ । विजयी खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले पुरस्कार वितरण गर्नुभएको थियो । गत ५ गतेदेखि सञ्चालित यस प्रतियोगितामा गाउँपालिकाका नौवटै वटाले सहभागिता थियो ।