काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना भाइरसको दोस्रो लहर बढेको ठहर गर्दै सरकारले देशभर स्वास्थ्य मापदण्ड कडाइ गर्न देशभरका जिल्लामा परिपत्र जारी गरेको छ । कोरोना भाइरसको संक्रमणको जोखिम फेरि बढेको भन्दै थप कडाइ गर्न गृह मन्त्रालयले सर्कुलर जारी गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको सूचनापछि गृहले सबै जिल्ला प्रशासनलाई थप तयारी थाल्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयको जानकारीपछि गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयमा आवश्यक तयारी गर्न, स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन निर्देशन दिइसकेको प्रवक्ता बुढाले बताउनुभयो ।
गृह मन्त्रालयले भारतीय सीमानाकामा थप कडाइ गर्न निर्देशन दिएको छ । यस्तै क्वारेन्टिन र आइसोलेसन सेन्टरहरु पनि पुनः तयारी अवस्थामा राख्न भनिएको छ।
स्वास्थ्य मन्त्रालयले आइतबार सूचना जारी गर्दै भारतका विभिन्न प्रान्तमा कोरोनाको संक्रमण बढिरहेको र नेपालमा पनि जोखिम बढ्ने भएकाले थप सतर्कता अपनाउन सार्वजनिक अपील गरेको थियो ।
भारतीय सीमानाबाट नेपाल भित्रिनेको अनिवार्य तथ्यांक राख्न र ज्वरो नापेर शंकास्पद व्यक्तिलाई क्वारेन्टिनमा राख्न गृह मन्त्रालयले निर्देशन दिएको छ।
त्यसैगरी भीडभाड नगर्न नगराउन, मास्क सेनिटाइजर अनिवार्य प्रयोग गर्न, र नलाउनेलाई कारबाही गर्न परिपत्र जारी गरिएको प्रवक्ता बुढाले बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘सीमानाबाट भित्रिनेको अनिवार्य तथ्यांक राख्न, स्वास्थ्य जाँच गराउने, शंकास्पद देखिए क्वारेन्टिनमा राख्ने, जिल्लाका क्वारेन्टिन तथा आइसोलेसन सेन्टर पुनः एक्टिभ बनाउन र सचेतनाका कार्यक्रम गर्न भनेका छौं।’
गृहको सर्कुलरसँगै केही जिल्लाले सूचना जारी गरेर पुनः कडाइ गर्न थालेका छन् ।
‘नेपालमा समेत पुनः कोरोना संक्रमणको जोखिम बढ्न सक्ने देखिएको हुँदा सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक एवं भीडभाड नगर्न गृहमन्त्रालयले जारी गरेको परिपत्रमा उल्लेख गरिएको छ ।
नेपालमा पनि पछिल्लो समय कोरोना संक्रमणको दर थपिएको छ । केही दिनदेखि एक सयभन्दा कम दैनिक संक्रमण पुष्टि भएकोमा सोमबार १५० जनामा संक्रमण देखिएको थियो ।