काठमाडौं । कैलालीको लम्कीमा क्षेत्र तनावग्रस्त भएको छ । प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् भने स्थानीयको ढुंगामुढाबाट केही प्रहरी पनि घाइते भएको प्रहरीले जनाएको छ।
आज बिहान बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि स्थानीयले शव सडकमा राखेर गरेको प्रदर्शन गरेका थिए । प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले स्थितिलाई नियन्त्रणाम लिन गोली चलाउनु परेको बताइएको छ ।
गोली लागेर २५ कृष्ण प्याकुरेल र वर्षीय १८ वर्षीय दीपक सञ्जेल घाइते भएका छन् । घाइतेहरुको उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्की चोकमा ना ६ ख ८८३३ नम्बरको बसले ठक्कर दिँदा स्थानीय पैदल यात्री २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो। प्रहरीले ठक्कर दिने बस र चालकलाई नियन्त्रण लिइसकेको छ। तर, मृतकका आफन्त र स्थानीयले अस्पतालबाट शव निकालेर सडकमा प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीहरु इलाका प्रहरी कार्यालयमै प्रवेश गरेर प्रहरीलाई नै घिसार्न थालेपछि स्थिति तनाबग्रस्त बनेको प्रहरीले जनाएको छ ।
चोकमा प्रदर्शन भइरहेको अवस्थामै प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । तर, उनीहरु प्रहरी कार्यालय नै घेराउ गर्न अगाडि बढेपछि हवाई फायर गर्दा पनि स्थिति नियन्त्रणमा नआएपछि गोली नै चलाउनु परेको प्रहरीले जनाएको छ ।