काठमाडौँ । शहीद स्मारक ‘सी’ डिभिजन लिगमा खालीबारी युथ क्लब विजयी भएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा खालीबारीले मनोहरा युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको हो । खालीबारीका लागि इमान लामाले निर्णायक गोल गर्नुभयो । उहाँले खेलको ७८औँ मिनेटमा गोल गर्नुभएको हो ।
जितसँगै खालीबारीले तीन खेलमा ६ अङ्क जोडेको छ । मनोहराको पनि तीन खेलमा ६ अङ्क नै रहेको छ । सातदोबाटोमै आज सम्पन्न अर्को खेलमा ओसिस क्लब र सानेपा क्लबले गोलरहित बराबरी खेले । दुवै टोलीका तर्फबाट गोल हुन सकेन । आगामी चैत २४ गतेसम्म सञ्चालन हुने ‘सी’ डिभिजन लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
(रासस)