काठमाडौँ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सहज, सुरक्षित एवं व्यवस्थित बनाउने उद्देश्यले ट्राफिक प्रहरी महाशाखाले ट्राफिक स्वयंसेवक परिचालन गर्दै आएको छ ।
उपत्यकामा वर्षेनी सुरक्षित सडक प्रयोग नगर्दा धेरै पैदल यात्रुहरु दुर्घटनामा परी अनाहकमा ज्यान गुमाउनुका साथै ठुलो संख्यामा अंगभङ्ग हुने गरेको तथ्याङ्कबाट स्पष्ट देखिन्छ । सडक सुरक्षा तथा ट्राफिक नियमलाई बेवास्ता गरी सडक पार गर्ने, जथाभावी हिँड्डुल गर्दा दुर्घटनाको जोखिम उच्च रहने र समग्र सडक व्यवस्थापनमा समेत त्यसले असर गर्ने हुनाले त्यसलाई न्युनिकरण गर्न ट्राफिक स्वयंसेवक परिचालन एउटा प्रभावकारी उपाय हुने महाशाखाको अपेक्षा रहेको छ ।
महाशाखाले राष्ट्रिय सेवा दलका ५० जना र ट्रिनिटी कलेज र मेधावी कलेजका ४५ जना गरी ९५ जना बिद्यार्थीहरुलाई स्वयंमसेवक सम्बन्धी प्रशिक्षण दिई सवारी तथा पैद्लयात्रीको चाप हुने विभिन्न चोक जक्सन, आकाशेपुल र जेब्राक्रसिङमा १० दिनसम्म आजैदेखि परिचालन गरिने महाशाखाले छ ।
उपत्यकाको बढी सवारी चाप तथा पैदल यात्रुको भीडभाड हुने स्थानहरुमा सहज र सुरक्षित आवागमन गर्ने लक्ष्यसहित ट्राफिक स्वयंसेवक परिचालन गरिदै आएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताउनुभयो । त्यसरी खटिने ट्राफिक स्वयंसेवकले सुरक्षित तरिकाले बाटो काट्न सहयोग गर्नुका साथै आकाशेपुल तथा फुटपाथको प्रयोग नगर्ने पैदल यात्रुहरुलाई जथाभावी बाटो नकाट्न र नियमको पालना गर्न सन्देश प्रबाह गर्ने हेतु स्वयंसेवकले कार्य गर्ने एसएसपी भट्टराईले जानकारी दिनुभयो ।
केही मिनेट मात्रै सवारी सञ्चालनमा सहज भयो भने पनि राहत महसुस हुने हुँदा ट्राफिक स्वयंसेवकले त्यो वातावरण तयार पार्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । जेब्राक्रसिङ तथा जथाभावी बाटो काट्दा दुर्घटनामा परी मानिसको ज्यान गएको विगतका घटनाहरु सम्झदै उहाँले पैदल यात्रुको बढी भीडभाड हुने त्यस्ता क्षेत्रमा स्वयंसेवक परिचालन गरी उनीहरुलाई सुरक्षित यात्रा गराउन र सडक पार गर्न सहयोगी बन्ने समेत जानकारी दिनुभयो ।
यसअघि महाशाखाले विभिन्न सँघसंस्था, स्कुल कलेजका बिद्यार्थीहरुलाई ट्राफिक स्वयंसेवक सम्बन्धी प्रशिक्षण दिई बिभिन्न चरणमा परिचालन गरिएको र त्यसको प्रभावकारितासँगै यसलाई निरन्तरता दिएको बताएको छ । हाल बिभिन्न चरणमा ६१९ जना स्वयंसेवकहरु परिचालन भैसकेका छन् भने ५७ जनाले दैनिक काम गर्दै आएका छन् ।
स्वयम्सेवक परिचालनबाट काठमाडौंको ट्राफिक व्यवस्थापनमा आमजनमानसले थोरै भए पनि राहत महसुस गर्ने र पैदल यात्रुलाई सहजता मिल्ने महाशाखाको बुझाइ छ ।स्वयंसेवकको उपयोगिता एवम् प्रभावकरिता हेरेर आगामी दिनमा थप परिचालन बढाउँदै लगिने महाशाखाले जनाएको छ ।