काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण सोधिएको छ । नेपालसहित भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण पत्र घरमा नै पठाइएको छ । चारैजना नेतालाई तीन दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण दिन भनिएको छ ।
गत शनिबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले माधव नेपालसहितका नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार पार्टी महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गरेको पत्र नेताहरुलाई पठाइएको हो । वरिष्ठ नेता नेपाल र स्थायी कमिटी सदस्य पाण्डेले पत्र बुझे पनि उपाध्यक्ष रावल र उपमहासचिव भुसालले भने बुझिसकेका छैनन् । वरिष्ठ नेता नेपालको पत्र उनकै स्वकीय सचिव नितेज पौडेल र स्थायी कमिटी सदस्य पाण्डेलाई पठाइएको पत्र स्वकीय सचिव सञ्जीव पाण्डेले बुझ्नुभएको हो । वरिष्ठ नेता नेपाललाई पठाइएको चार पृष्ठ लामो स्पष्टीकरणमा १७–बुँदे प्रश्नहरु सोधिएको स्रोतले जनाएको छ ।
चित्तबुझ्दो स्पष्टीकरण नदिए पार्टी विधानअनुसार थप कारबाही गरिने निर्णय पनि बैठकले गरेको थियो ।