काठमाडौं । बाँके राष्ट्रिय निकुञ्जमा राखिएको sky क्यामरामा हतियारसहित केही व्यक्तिहरुको हर्कत गरेको देखिएको हुँदा ‘अपरेशन महाहण्ट–७’ मा खटिएको फौज र निकुञ्ज कार्यालयका कर्मचारीसहितको संयुक्त टोलीले शनिबार बाँकेको राप्ती सोनारी गाउँपालिका–९ स्थित कोर इलाका खैरी गोठ क्षेत्रमा खोजतलास गर्दा भरुवा बन्दुक २ नाल, बारुद ४०० ग्राम, केप १४ थान, शिकार गरिएको मासुलगायत शिकारमा प्रयोग हुने अन्य बन्दोबस्तीका सामानहरु बरामद गरी निकुञ्ज कार्यालयमा बुझाएको छ ।
उक्त घटनामा संलग्न भई फरार व्यक्तिहरुको खोजी भइरहेको छ । सेनाले चलाएको अपरेशनबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरुमा संरक्षित जीवजन्तु र प्राकृतिक सम्पदाहरुको सुरक्षा थप प्रभावकारी भई चोरी शिकारीका घटनाहरु नियन्त्रणमा आउने विश्वास लिएको नेपाली सेनाद्वारा आज जारी गरिएको प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।