काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज चियापान कार्यक्रमको आयोजना गर्नुभएको छ । सर्वोच्च अदालतले एमाले पार्टी ब्यूताएपछि उहाँले पार्टीका केन्द्रिय सदस्यहरुका लागि वालुवाटारमा चियापान कार्यक्रम आयोजना गर्नुभएको हो ।
दुई कित्तामा देखिएको एमालेमा ओलीको चियापानलाई महत्वका साथ हेरिएको छ । फागुन २८ गते पार्टीको जिम्मेवारीमा ब्यापक हेरफेर गरिएको र चैत ७ गते केन्द्रीय कमिटी बैठक डाकिएकाले यो चियापानलाई सोही बैठकको तयारीको रुपमा पनि हेरिएको नेताहरुले बताएका छन् ।
एमालेका सबै नेतालाई बोलाइएको चियापान कार्यक्रममा माधव नेपाल र झलनाथ खनाल समुहका नेताहरु भने सहभागि नहुने बताएका छन् । पार्टीलाई एकतावद्ध गराउने भन्दै हिजो पार्टी कार्यालय धुम्बाराहीमा बसेको ओली–नेपाल पक्षको बैठक ठोस निष्कर्षमा पुगेको थिएन् । लगत्तै नेपाल–खनाल पक्षको बैठक बसेर अध्यक्ष ओलीले आयोजना गरेको चियापानमा सहभागि नहुने निर्णय गर्नुका साथै ४ र ५ गतेका लागि आयोजना गरिएको वृहत कार्यकर्ता भेला पनि नरोक्ने निर्णय गरेका छन् । यसले गर्दा एमालेभित्र माधव समूह एकता नचाहेको हो कि भन्ने कार्यकर्ताको आशंका छ ।