काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले ब्युँतिएको छ । नेकपाको नाम विवादबारे आइतबार सर्वोच्च अदालतले गरेको फैसलाले नेकपा एमाले व्यूँतिएपछि एमालेका जिल्ला कार्यालयहरुमा पार्टीको साइनवोर्ड र झण्डाहरु धमाधम पुनस्र्थापना गरिएको छ ।
नेकपा एमाले र माओवादी केन्द्र कायम राख्ने उक्त फैसलाबाट खुशी पूर्व एमालेका नेता, कार्यकर्ताहरु खुशी भएका छन् । नेता–कार्यकर्ताले कार्यालयको बोर्ड समेत परिवर्तन गर्न थालेका छन् ।
नुवाकोटमा कार्यकर्ताले सोमबार पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राखेका छन् । तत्कालीन एमालेका नुवाकोट उपाध्यक्ष एवं बागमती प्रदेश सांसद बद्री मैनालीको नेतृत्वमा बोर्ड र चुनाव चिह्न सूर्य अंकित झन्डा राखिएको हो ।
त्यस्तै काभ्रेलगायतका जिल्ला पार्टी कार्यालयहरुमा बोर्ड र झण्डा परिवर्तन गरिएको छ । पार्टी एकतापछि नेकपाको साइनवोर्ड र सूर्य चिन्हको भित्र हँसिया हथौडा भएको झण्डा राखिएका थिए । ति निकालेर एमालेको साइनबोर्ड र झण्डा राखिएको हो ।
उता विराटनगरमा पनि नेकपा एमालेको कार्यालय स्थापना गरिएको छ । संस्कृति, पर्यटन मन्त्री भानुभक्त ढकालको उपस्थितिमा आज कार्यकर्ताले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बोर्ड हटाएर नेकपा एमालेको मोरङ जिल्ला कार्यालय लेखिएको बोर्ड राखेका छन् ।
सो अवसरमा पार्टी केन्द्रीय सदस्य बिनोद ढकाल, पार्टीका जिल्ला अध्यक्ष ऋसिकेस पोखरेल,प्रभावशाली युवा नेता पर्शुराम बस्नेतलगायतको उपस्थिति मा सम्पन्न भयो ।
विराटनगर महानगरपालिका–११ पाञ्चालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला कार्यालय थियो । नेकपामा दुई समूहमा विभाजनपछि सो कार्यालयमा ओली समूहले गतिविधि गर्दै आएको थियो । पार्टी एकताअघि सो कार्यालय नेकपा एमालेको नै थियो ।