काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीका लागि अभिभावकीय भूमिकामा सरकार रहेकाले अब कसैले चिन्ता गर्नु नपर्ने बताउनु भएको छ । देश समृद्ध बनाउने महान उद्देश्यमा सरकार लागेको बताउँदै प्रधानमन्त्री ओलीले अब जनताको सुखका दिन आउने बताउनुभएको छ ।
सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यी आयोजनाको शिलान्यास कार्यक्रममा आज सिन्धुलीमा आयोजित कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले देश विकासको गतिमा अगाडि बढेकाले अव कसैले रोक्न नसक्ने दावी पनि गर्नुभयो । सरकार परिवर्तनको खेल भइरहेका बेला प्रधानमन्त्री ओलीले आफूहरुको उद्देश्य समृद्ध नेपाल र सुखी नेपाली बनाउने रहेकाले एउटा ढल्दा हजार बनेर निस्किने दावी गर्नुभयो ।
खोप आइसकेकाले अब कोभिड १९ ले पनि दुःख दिन नसक्ने बताउँदै प्रधानमन्त्री ओलीले सबै नेपाली जनतालाई निःशुल्क खोप उपलब्ध गराउने बताउनु भयो । अझै शतप्रतिशत भरपर्दो खोप आइनसकेकाले सजगता भने आवश्यक रहेको उहाँले बताउनुभयो ।
देशभरबाट फुसको छाना विस्थापित गरी जस्ताको छाना लगाउने काम भइरहेको बताउँदै प्रधानमन्त्री ओलीले घरवासविहिनका लागि घरबास निर्माण गरी वितरण गर्ने काम पनि भइरहेको बताउनुभयो । आधुनिक नेपालतर्फ उन्मुख भएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले आउने तिहारदेखि इलेक्ट्रिक बसहरु शहरमा सुचारु हुने र शहरलाई आधुनिकीकरण बनाउने काम पनि भइरहेको बताउनु भयो ।
सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यी आयोजनाको मुख्य दुई वटा देखिने उद्देश्य रहेको बताउँदै प्रधानमन्त्री ओलीले १ लाख ८५ हजार विघासम्म सिंचाई पु¥याउने लक्ष्य आयोजनाको रहेको बताउनुभयो । अर्को, ३१ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो “सुनकोसीको पानी बोकेर टनेल मरिनमा पुग्छ, त्यसको प्रत्यक्ष लाभ यहाँका किसान दाजुभाइ दिदीवहिनीहरुलाई हुन्छ, रुखोपनलाई रसिलो र हराभरामा परिणत गर्ने छ, एउटा सिंचाईको नहर मात्र होइन, सिंचाईले जमिनमुनिको पानी पनि माथि ल्याउँछ, यसको काम बहुउद्देश्यीय हो ।”
आयोजनाले मधेस र हिमाललाई जोड्ने बताउँउनु हुँदै प्रधानमन्त्री ोलीले आफूलाई मधेस विरोधीको आरोप लगाए पनि आफूले मधेसमा काम गरेर देखाइरहेको चर्चा गर्नुभयो । यसपछि अर्को आयोजना सुनकोसी कमला डाइभर्सन आयोजना निर्माणको काम शुरु हुने र त्यसले १ लाख ७० हजार विघा जमिनमा सिंचाई हुने जानकारी दिनुभयो ।
हराभरामा पछाडि रहेको प्रदेश २ लाई बगैचामय प्रदेश बनाउने प्रधानमन्त्री ओलीले बताउनुभयो । त्यसले हरियाली र वातावरणको संरक्षण पनि हुने बताउनु भयो । त्यसबाट उत्पादित फलफुल विदेशमा समेत निर्यात गर्ने अवस्थामा पुग्ने पनि बताउनुभयो ।
अवको पाँच वर्षभित्र नेपाल उत्पादक र निर्यातकर्ता देश बन्ने दावी गर्दै प्रधानमन्त्री ओलीले पूर्व–पश्चिम हुलाकी राजमार्ग ६५ प्रतिशत निर्माण भइसकेको र ३५ प्रतिशतजति आरक्षका कारण निर्माण कार्य सम्पन्न हुन बाँकी रहेको बताउनुभयो ।
सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यी आयोजनाको मितिभन्दा अगाडि सम्पन्न गर्न प्रधानमन्त्री ओलीले निर्माण कम्पनीलाई निर्देशन दिनुहुँदै एक दिनको ढिलाले पनि ठूलो क्षति हुने बताउनुभयो । आयोजनाको कामको जिम्मेवारी पाएका सबैलाई मेहनत र इमान्दारितासाथ काम गर्न निर्देश गर्नुहुँदै प्रधानमन्त्री ओलीले ढल निर्माण, सिंचाईका लागि नहर, ट्रान्समिसन लाइन, बाँध, विद्युत उत्पादन सबै काम सँगसँगै सम्पन्न हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा उर्जा जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीले आयोजनाले आर्थिक क्रान्तिको कोसेढुङ्गा सावित हुने बताउनु भयो । नेपालको पूर्वाधार विकास क्षेत्रमा यो ऐतिहासिक आयोजना भएकाल समयमै सम्पन्न हुनुपर्ने उहाँले पनि चर्चा गनुृभयो । सरकार आर्थिक समृद्धिको दिशामा निरन्तर लागिरहेको चर्चा गर्नुहुँदै उहाँले देशको समृद्धि, विकासका लागि यो सरकार नै अब्बल रहेको बताउनुभयो ।
त्यस्तै शहरी विकास मन्त्री प्रभु साहले २ नम्बर प्रदेश मानव विकास सुचकाङ्कमा पछाडि रहेपनि आयोजना निर्माण भएपछि त्यसमा बृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो । आयोजना निर्माणले सिन्धुली जिल्लाले प्रत्यक्ष लाभ लिएपनि प्रदेश २ को जिल्ला पनि लाभान्वित हुने बताउनुभयो ।
सरकारले स्मार्ट सिटीको नयाँ अभ्यास गर्नेगरी काम गरिरहेको बताउनुहुँदै मन्त्री साहले नेपाललाई आत्मनिर्भर बनाई देशको शीर उँचो राख्नेगरी काम सरकारले गरिरहेको दावी गर्नुभयो ।
त्यसतै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले आयोजनाले मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो । यो आयोजना केवल आयोजनाका लागि मात्र होइन, मुलुकको समृद्धिका निम्ति कोसेढुङ्गा सावित हुन्छ भन्नुभयो । यसको प्रतिफल बागमति र प्रदेश २ का जिल्लाका कृषकहरुलाई बढी हुने उहाँले बताउनुभयो ।
त्यसतै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आयोजना सम्पन्न भएपछि भौतिक पूर्वाधारको विकास सँगै अन्य आर्थिक गतिविधि पनि बढ्ने बताउनुभयो ।
प्रदेश २ का पाँच जिल्ला बारा, रौतहट, महोत्तरी, सर्लाही र धनुषाका जिल्लामा सिंचाईको व्यवस्था भई लाखौं किसान लाभान्विन हुने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा आयोजनाका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले रामेछाप र सिन्धुलीको सिमाना खुर्कोटमा निर्माण हुने आयोजनाले यस क्षेत्रको विकासमा ठूलो योगदान दिने बताउनुभयो ।
आयोजनाबाट वार्षिक १० अर्व रुपियाँ आम्दानी हुने जानकारी दिँदै उहाँले आयोजनाबाट ३१ मेगावाट विजुली उत्पादन भई विद्युत क्षेत्रमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सरकारले आफ्नै लगानीमा आयोजना निर्माण गर्ने लक्ष्य लिएको छ । भेरी–बबई डाइभर्सन टनेल निर्माण गर्ने कम्पनीले सो आयोजना सम्पन्न गर्ने जिम्मा पाएको छ । १ लाख २२ हजार हेक्टर क्षेत्रमा भरपर्दो सिंचाई पु¥याउने लक्ष्य आयोजनाले लिएको छ । आ.व. २०८२÷०८३ सम्म आयोजना निर्माण गरिसक्ने समयसीमा तय गरिएको छ ।