काठमाडौं । प्रतिनिधिसभा वैठब अघि सभामुख अग्निप्रसाद सापकोटाले संसद प्रतिनिधित्व गर्ने सबै दलका नेता र कार्यव्यवस्था परामर्श समितिमा छलफल गर्ने बताउनु भएको छ । प्रतिनिधिसभा यही फागुन २३ गते ४ बजे बस्दैछ ।
प्रतिनिधिसभाको बैठक कक्षको तयारीको अवस्थाबारे आज अवलोकन गर्न संसद भवन नयाँ बानेश्वर पुग्नु भएका सापकोटाले छलफल गरेर बैठकलाई अगाडि बढाउने बताउनु भएको हो ।
बैठक कक्षको व्यवस्थापनको अवलोकनपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सभामुख सापकोटाले सर्वोच्चको फैसला खुसी र गौरवको विषय भएको र संसद अधिवेशनलाई स्वभाविक लयमा सञ्चालन गर्ने बताउनु भयो ।
प्रतिनिधि सभा बैठकको पूर्वसन्ध्यामा बुधबारदेखि शुक्रबारसम्म संघीय संसदका सबै सांसदहरु तथा कर्मचारीहरुलाई कोरोनाविरुद्धको भ्याक्सिन समेत लगाइँने भएको छ । राजनीतिक रुपमा दुई धारमा नेकपा विभाजन भएपनि कानुनी रुपमा नहुँदा आगामी प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओली पक्षीय नेकपा र प्रचण्ड–नेपाल पक्ष नेकपा कसरी प्रस्तुत हुन्छन् भन्ने सर्वत्र जिज्ञासा बढेको छ ।