काठमाडौं । नेपाली सेनाले सिराहामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नागरिक सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले श्री शेर गण र श्री नं. २७ फिल्ड एम्बुलेन्स गुल्म तथा नरहा गाँउपालिकाको सहकार्यमा शनिबार सेनाले सिराहाको नरहा गाँउपालिकाका देवीपुर र बर्छवाका ५ वटै वडाका स्थानीय बासिन्दाहरुलाई लक्षित गरी जनता वनवालि उच्च मा.वि. बर्छवामा १ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
उक्त १ दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा जिल्ला अस्पताल सिराहा, जानकी मेडिकल कलेज धनुषा, सगरमाथा आँखा अस्पताल र नं.२७ फिल्ड एम्बुलेन्स गुल्म सहित जम्मा १६ जना स्वास्थ्यकर्मीहरुले सेवा उपलब्ध गराएको सेनाले जनाएको छ । बिरामीहरुलाई निःशुल्क औषधी वितरण तथा स्वास्थ्य सेवा उपलब्ध गराइएको सो स्वास्थ्य शिविरबाट पाँच सय ८२ जना महिला र तीन सय ७९ पुरुष गरि ९ सय ६१ जना सर्वसाधारणहरु लाभान्वित भएका थिए । कार्यक्रममा स्वास्थ्य शिविरका साथै नेपाली सेना सम्बन्धी जोईन द नेपाली आर्मी, माईन रिक्स एजुकेसन र विपद व्यबस्थापन सम्बन्धी जनचेतनामूलक प्रस्तुतिकरण समेत गरिएको थियो । सेना र आम नागरिक बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन यस किसिमको स्वास्थ्य उपचार सेवाले सकारात्मक भूमिका खेल्ने नेपाली सेनाले विश्वास लिएको जनाएको छ ।